नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तहनजिक पुगेको छ । शनिबार दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८.९८ मिटर पुगेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ ।
देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ । देवघाटमा पानीको सतह निरन्तर बढ्दो क्रममा छ । नदीमा ७.३ मिटर पानीको सतह पुग्दा चेतावनीको तह मानिन्छ । शुक्रबार (असोज ९) राति नै नदीको बहाव चेतावनीको तह पार भएको केन्द्रले जनाएको छ ।
नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए ।
“बाढीको जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्ने, नदी किनारमा नजान माइकिङ गर्नेलगायत कामहरू भइरहेका छन्,” उनले भने, “जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका नारायणी नदीको बाढीको जोखिममा रहेका पालिका हुन् ।”
यस्तै, बौदिकाली र बुलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढी तथा पहिरोको जोखिममा रहेका भन्दै प्रजिअ उपाध्यायले प्रभावितलाई सुरक्षित स्थानमा राख्ने काम भएको बताए । बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतका निम्ति जिल्लाका सुरक्षा नियकायलाई ‘हाई अलर्ट’मा राखिएको उपाध्यायले जानकारी दिए ।
“हामीले जिल्लामा विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका सबै प्रयास गरेका छौँ,” उनले भने, “विपद् आइहालेमा उद्धार र राहतका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेका छौँ ।”
नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको छ । नारायणी नदीमा पानीको बहाव चेतवानीको तह पार गरेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको हो ।
इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख एवं प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालले गण्डक ब्यारेज वाल्मीकि नगरलाई उद्धृत गर्दै हाल ब्यारेजमा पानीको सतह तीन लाख ४०० क्युसेक पुगेको जानकारी दिए । यो ब्यारेजमा पानीको सतह तीन लाख क्युसेक पुगेपछि चेतावनीको तह मानिने पालले बताए ।
नारायणी नदीमा पानीको बहाव बढेपछि शुक्रबार रातिदेखि नै गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको उनले बताए । नदीमा बाढी आएका कारण त्यहाँ नेपाल र भारततर्फका दुवै नहरमा पानी पूर्ण रूपमा बन्द गरिएको उनको भनाइ छ ।
ब्यारेजमा पानीको बहाव बढ्न थालेपछि सुस्ताको जमिन डुबानमा परेको भन्दै उनले बाढी प्रभावितलाई सुरक्षित स्थानमा लैजाने काम गरिएको जानकारी दिए । रासस






