Khabar Out
खुल्यो मुर्कची–रौता–जाँते ग्रामीण सडक

गाईघाट । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको छ । जिल्ला सदरमुकाम गाईघाटबाट रौतामाई गाउँपालिकाको रौताको मुर्कुची बजार भएर पुवारे, भुटार हुँदै लिम्चुङबुङ गाउँपालिका–५ जाँतेसम्म जोड्ने करिब ४२ किलोमिटर सडकअन्तर्गत रौता–भुटार खण्ड अवरुद्ध भएको थियो ।

गत वर्षको वर्षाले ग्रामीण सडक भत्काएनुका साथै भुटारस्थित रसुवा खोलामा पुल नहुँदा अवरुद्ध बनेको थियो । हालै रसुवा खोलामा अस्थायी पुल निर्माण गरिनुका साथै अन्य अवरुद्ध हटाएपछि यस क्षेत्रका ग्रामीण सडकमा यातायात सञ्चालन हुन थालेका स्थानीय बताउँछन् ।

जाँतेका प्रमेश बूढाथोकीले भने, ‘गत वर्षदेखि यो सडक अवरुद्ध हुँदा यस क्षेत्रका जनतालाई जिल्ला सदरमुकाम गाईघाटलगायत अन्यत्र आवतजावत गर्न कठिनाइ भएको थियो, अहिले अस्थायी पुल निर्माण भएको छ भने अवरुद्ध सडक पुनःनिर्माण गरेपछि सञ्चालन भएको छ ।’

उक्त सडक सञ्चालन भएपछि शुक्रबारदेखि जाँते–भुटार–मुर्कुची– गाईघाटमा बससमेत सञ्चालन हुन थालेको मुर्कुचीका यातायात व्यवसायी कुमार मगरले बताए । लिम्चुङबुङ गाउँपालिका–५ का वडाध्यक्ष केसर राईका अनुसार रौतामाई गाउँपालिकासँग समन्वय गरेर सडक सञ्चालनको पहल गरेपछि अवरोध हटेको हो ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार रौता–भुटार खण्डको रसुवा खोलामा अस्थायी पुल निर्माण गरिएको छ भने बाँकी स्थानका अवरुद्ध सडक खुलाइएपछि यातायात सञ्चालन भएको हो ।

यो सडक सञ्चालन भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको जाँते, हिम्मा, रौतामाई गाउँपालिकाको लाफागाउँ, भुटार, रामेटारसहित रौता मुर्कुची पाँबु क्षेत्रका स्थानीयको जिल्ला सदरमुकामसम्म को आवागमन सहज भएको छ । 

रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीले पालिका, अन्य सरोकार भएका निकायको पहलबाट अवरुद्ध सडक सञ्चालनमा ल्याइएको बताए । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update