Khabar Out
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै किन भारततिर मोडिन्छन् विमान ?

भैरहवा । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भए ।

शनिबार मात्र हैन गत वर्ष वैशाखमा फ्लाई दुबईको विमानमा त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा समस्या देखिए पनि पाइलटले नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ अवतरणमा चासो देखाएनन् । विमान भैरहवाकै आकाश हुँदै आफ्नो गन्तव्यतर्फ लागेको थियो । गत वर्षकै फागुन १४ गते काठमाडौंको मौसम खराब भएर भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमान र दुबईबाट काठमाडौं उडेको फ्लाई दुबईको विमान भारतको लखनऊ डाइभर्ट भएका थिए ।

यी प्रतिनिधिमूलक घटना मात्र हुन् । नेपाल आउने अन्तर्राष्ट्रिय विमानहरूले डाइभर्ट गर्नुपरे वा आकस्मिक अवतरण गराउन परे नेपाली विमानस्थलभन्दा नेपाल बाहिरकै विमानस्थललाई प्राथमिकतामा राख्ने गरेका छन् ।

यद्यपि, नेपाल आउने प्रत्येक अन्तर्राष्ट्रिय विमानहरूले वैकल्पिक विमानस्थल चयन गर्नुपर्ने हुन्छ । प्रायः सबै विमानहरूले वैकल्पिक विमानस्थलको रूपमा भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राख्ने गरेका पनि छन् । वैकल्पिक विमानस्थलमा परे पनि अहिलेसम्म यहाँ एयर चाइनाको विमान तीनपटक मात्र डाइभर्ट भएको छ ।

०७९ जेठ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि पर्यटक लक्षित गरिएको यो विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा निराश हुनुपर्ने अवस्था छ । यस विमानस्थलमा विमान नियमित हुन सकिरहेका छैनन् । नियमित मात्र हैन आकस्मिक रूपमा अवतरणका लागि पूर्णतया तयार हुँदा पनि यो विमानस्थलले अहिलेसम्म एयर चाइनाका बाहेक अन्य डाइभर्ट विमान अवतरण गराउन सकेको छैन ।

भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुपर्‍यो भने यात्रुलाई कहाँ राख्ने, चालक दलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषय निश्चित नभएकाले पनि विमानहरू यहाँ आउन नचाहेको जानकारहरू बताउँछन् । भैरहवा विमानस्थल नियमित सञ्चालन भएर सहजै यस्ता सुविधा प्राप्त नहुँदासम्म काठमाडौंमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण गराउन सकिँदैन ।

यसबाहेक नेपाल भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि यसमा असर गरेको छ । नेपालको तुलनामा भारतमा हवाई इन्धनको मूल्य सस्तो छ । ठूलो परिमाणमा इन्धन राख्ने विमानहरूलाई इन्धनको मूल्यले पनि प्रभाव पारेको छ । जसका कारण पनि उनीहरूको रोजाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पर्दैन ।

दूरी र समयको हिसाबले लखनऊभन्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक हो । दूरीका हिसाबले काठमाडौंबाट भैरहवा गएर ल्यान्ड गर्नुभन्दा लखनऊ गएर ल्यान्ड गर्न १४२ नौटिकल माइल बढी पर्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार दक्ष जनशक्तिको कमी नै यहाँ विमान डाइभर्ट हुन नसक्नुको मूल कारण हो ।  “भैरहवाको तुलनामा लखनऊ र अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरूमा यस्ता दक्ष प्राविधिक जनशक्ति तयारी अवस्थामा रहेका हुन्छन्, भैरहवामा ग्राउन्ड ह्यान्डलिङको टिम भए पनि इन्जिनियरको टिम छैन,” साह बताउँछन् ।

साहका अनुसार भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न ०८३ भदौ मसान्तसम्म यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन सेवा शुल्कमा शतप्रतिशत छुट प्रदान गरिएको छ । ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशतसम्म छुट छ । हवाई इन्धनको मूल्य ब्रेक इभन प्वाइन्टमा निर्धारण गरी बिक्री गरिएको छ । यो भनेको काठमाडौंको तुलनामा सरदर करिब एक डलर प्रतिकिलोलिटर हुन आउँछ ।

विमानस्थल सञ्चालनका लागि क्षेत्रीय स्तरमा भन्दा पनि राज्यस्तरबाट पहल नभएको गुनासो स्थानीय अगुवाहरूको रहेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका स्थानीय ठाकुरकुमार श्रेष्ठले अहिले पनि ‘कूटनीतिक पहल नपुगेको’ टिप्पणी गरे ।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अर्बौंको लगानी भए पनि, हालसम्म यी विमानस्थलहरूमा नियमित अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुन सकेका छैनन् । यी दुवै विमानस्थलहरूलाई मुख्यतयाः घरेलु उडानहरूमा मात्रै सीमित देखिएका छन् । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update