Khabar Out
‘एनटिभी वर्ल्ड’ को शुभारम्भ हुँदै , राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रूपान्तरित पिएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सव मनाउँदैछ ।

वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गर्ने पिएसबी नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रूपमा ‘एनटिभी वर्ल्ड’ सञ्चालन गर्ने कार्यक्रम राखिएको थियो । यो च्यानलले नेपाल अन्तर्राष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्री समावेश गर्नेछ ।

विश्वमा सन् १९२० को दशकदेखि सार्वजनिक सेवा प्रसारण (पिएसबी) को अभ्यास आरम्भ भए पनि नेपालमा यसको परिकल्पना प्रजातन्त्रको पुनः स्थापनापछि भएको हो । विज्ञहरू सम्मिलित विभिन्न कार्यदल र सञ्चारसम्बन्धी आयोगहरूको सुझाव एवं सिफारिससमेतका आधारमा सङ्घीय संसद्बाट सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ पारित भएको थियो ।

राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएको थियो । ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेबाट सो कानुन कार्यान्वयनमा आएको हो । यो ऐन कार्यान्वयनमा आएसँगै रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठित रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थियो । ऐन कार्यान्वयनका क्रममा लोकसेवा आयोगका अध्यक्ष रहेको सिफारिस समितिको सिफारिसका आधारमा २०८१ पुस १ गते पिएसबी नेपालको पहिलो नेतृत्वकर्ताका रूपमा डा विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।

यस संस्थाले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएपश्चात् गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी विषयवस्तुसहित जनउत्तरदायी सार्वजनिक सेवा प्रसारणका कार्य गर्दै आएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकृत विनियमावली तर्जुमालगायत कार्य भने प्रक्रियामा छन् । रासस    

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update