Khabar Out
वीरगञ्ज भन्साार नाकाः  विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज ।  चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९  विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् । 

गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ ।  गत आवको तीन महिनामा भने ९७  मात्रै विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो । 

सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो । चालु आवको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै रु १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट रु  नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।  

चालु आवको तीन महिनामा रु २८ करोड ७९ लाख मूल्य पर्ने दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने रु २१ करोड १७ लाख मूल्य पर्ने एक हजार चार सय ८१  विद्युतीय मोटरसाइकल आयात भएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update