दमौली । तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो ।
शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए ।
प्रदेश जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा, रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा पुगेर उक्त रोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन गरेको कँडेलले बताए ।
उनले भने- ‘शान्ति सेनाबाट फर्किएपश्चात् परीक्षण गर्दा मलेरियाको सङ्क्रमण पुष्टि भएको थियो । औषधि उपचारपश्चात् हाल उहाँ सन्चो हुनुभएको छ ।’ यसअघि गत साउन महिनामा बन्दीपुरका एक व्यक्तिमा मलेरियाको पहिलो सङ्क्रमण देखिएको थियो
मलेरिया एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट हुने रोग हो । ज्वरो आउनु, टाउको दुख्नु, धेरै थकान हुनु, पसिना धेरै आउनु यस रोगका लक्षण हुन् । रासस


