म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्व बोकेको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत रणवाङ–दरवाङ खण्डको कालोपत्रे गर्ने काम ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।
मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङसम्मको ८ किलोमिटर सडक कालोपत्र गर्न वि.सं. २०७६ जेठ ३१ गते पूर्वाधार विकास कार्यालय म्याग्दी र बिरुवा–क्याराभान निर्माण कम्पनीबीच २२ करोड ५७ लाख ९ सय ३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
वि.सं. २०७८ जेठमा सकिनुपर्ने यो योजनाको भौतिक प्रगति हालसम्म ८७ प्रतिशत मात्रै छ। कार्यालय प्रमुख विष्णु पौडेलका अनुसार, ७ किलोमिटर लामो सडकको रणवाङ–तोलावाङ खण्डमा ३ किलोमिटर ३०० मिटर दूरीमा मात्र कालोपत्रे सकिएको छ ।
म्याग्दीको ‘लाइफलाइन’ मानिने यो सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको यातायात व्यवसायी अर्जुन आचार्यले बताए। उनले तोलावाङ–दरबाङ खण्ड अझै अधुरै रहेको र धुलोका कारण स्थानीयलाई सास्ती भएको गुनासो गरे ।
निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन नहुनु, कोरोना महामारी र विपद्का कारण ढिलाइ भएको बताए। उनले पहिरो प्रभावितबाहेकका ठाउँमा काम सकिएको र चालु आर्थिक वर्षमा योजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
बेनीलाई मङ्गला, मालिका र धौलागिरि गाउँपालिका तथा बागलुङको तमानखोला गाउँपालिकासम्म जोड्ने यो सडक निर्माणमा ठेकेदारले बारम्बार बहाना बनाएर ढिलाइ गरेको गण्डकी प्रदेशसभा सांसद रेशम जुग्जालीले बताएका छन् । उनले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट अपुग भएमा थप व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै निर्माण व्यवसायीलाई छिटो काम सक्न आग्रह गरेका छन् । रासस


