म्याग्दी । एक हप्तादेखि बेपत्ता बेनी नगरपालिका–६ जामुनाखर्ककी ९५ वर्षीया स्यानीमाया खत्रीको शव भेटिएको छ ।
गत असोज २९ गते दिउँसो ११ बजेदेखि घरबाटै हराएकी खत्रीको शव प्रहरीको तालिमप्राप्त कुकुरको सहयोगमा मंगलबार फेला पारिएको हो । जामुनाखर्कस्थित सानीचौतारीको खोरीयामा स्यानीमायाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताए ।
परिवारका सदस्य, आफन्त, स्थानीयबासी र प्रहरीले पाँच दिनसम्म खोज्दा समेत नभेटाएपछि सोमबारदेखि खत्रीलाई खोज्ने पोखराबाट प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर परिचालन गरिएको थियो ।
खत्रीको शव परीक्षणका लागि प्रदेश अस्पताल बेनीको शवगृहमा राखिएको छ । खत्रीको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खत्री घरबाटै बेपत्ता भएको विषयमा परिवारका सदस्यले असोज ३१ गते प्रहरीलाई जानकारी गराएर खोजीका लागि अनुरोध गरेका थिए । रासस


