Khabar Out
खानेपानीजन्य रोगबाट बच्न विभागको आग्रह

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम उच्च भएकाले त्यसबाट बच्न आग्रह गरेको छ । 

सोमबार विभागले एक अनुरोध पत्र जारी गर्दै यस्तो अवस्थामा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वच्छ खानेपानी र व्यक्तिगत सरसफाइमा जोड दिन अनुरोध गरेको हो । 

बाढी पहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने भएका र झाडा–पखाला, हैजा, आउँ, टाइफाइड, जन्डिसजस्ता गम्भीर रोगहरू फैलिन सक्ने भन्दै उच्च सर्तकता अपनाउन अनुरोध गरिएको विभागका उप–महानिर्देशक ई नारायणप्रसाद आचार्यले बताइ । उनले भने, “हामीले आम नागरिकहरूलाई विशेष सतर्क रहन र पानी शुद्धीकरण गरेर मात्र पिउन सन्देश दिएका छौँ ।” 

विभागले देशका विभिन्न स्थानहरूमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बिरामीहरूलाई उच्च जोखिममा रहेको भन्दै उनीहरूको हेरचाहमा थप सतर्कता अपनाउन अपिल गरिएको उपमहानिर्देशक आचार्यले बताए । रासस

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update