भक्तपुर । सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशील समाज बस्ती यतिखेर पीडामा डुबेको छ । लाङटाङ घुम्न गएका आफ्ना तीन सन्तान रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएको थाहा पाएपछि परिवारसहित टोल–बस्ती नै पीडामा डुबेको छ ।
रोजगारीको सिलसिलामा विगत चार वर्षदेखि दुबईमा बस्दै आएकी २६ वर्षीया सनिता श्रेष्ठ असोज ९ गते मात्र यस वर्ष परिवारसँग दसैँ मनाउन दुबईबाट बिदा लिएर घर आएकी थिइन् ।
रोट्रयाक क्लबको नेतृत्वमा दसैँको टीका सकेर सनितासँगै बहिनी २४ वर्षीया संस्कृति श्रेष्ठ र भाइ २० वर्षीय कृष्ण भन्ने चितलाल श्रेष्ठ १८ गते शनिबार दिउँसो करिब ५ः०० बजे बेरिङ खोल्सा तर्नेक्रममा आएको पहिरोसँगको लेदो पानीले बगाएर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ आफूहरूले अकल्पनीय पीडा व्यहोर्नुपरेको बेपत्ता भएकाहरूका काका केशव श्रेष्ठले जानकारी दिए ।
१६ गते दसैँको टीका लगाएर रमाइलो गरेको परिवारमध्ये १७ गते बिहान करिब ५ः०० बजे पाँच दिने यात्रामा लाङटाङ घुम्न गएका उनीहरूसँगै भक्तपुर नगरपालिका–१० क्वाठण्डौँ बस्ने २३ वर्षीय रवि श्रेष्ठसमेत यात्रा पूरा नगर्दै बेपत्ता भएका छन् । उनीहरू बेपत्ता भएसँगै यात्रामा रहेका १६ जनाको टोलीमध्ये १२ जना साथी गुमाउँदाको पीडासहित यतिखेर रसुवामै विक्षिप्त अवस्थामा छन् ।
पहिलो दिन भक्तपुरबाट बेक्बो, दोस्रो दिन बेम्बोबाट लाङटाङ, तेस्रो दिन लाङ्टाङबाट खानजिङ गोम्पा, चौथो दिन खानजिङ गोम्पाबाट काञ्जिन रि र पाँचौँ दिन काञ्जिन रिबाट भक्तपुर फर्कने गरी १७ गते बिहान भक्तपुरबाट गएको १६ जनाको टोलीले गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङ्टाङतर्फको यात्रा तय गरेको थियो ।
श्रेष्ठका काका केशवले भने, ‘हामी हिजैदेखि सम्पर्कका लागि पटक पटक प्रयास गरिरहेका थियौँ । यात्रामै रहेका टोलीमध्येका अहिले बेम्बो होटलमा बसिरहेका चार जनासँग कुरा पनि भयो । उनीहरुका अनुसार खोल्सा तर्ने क्रममा अचानक माथिबाट आएको पहिरोसँगको लेदोमा पहिलोपटक सनिता बगिन् र उनलाई बचाउन गएकी बहिनी संस्कृति पनि बगिन, फेरि उनलाई बचाउन जाँदा भाइ कृष्ण समेतलाई बगाएर अन्तिममा साथी रविलाई पनि बगाएछ ।’
एकले अर्कालाई बचाउन जाँदा चारै जना बेपत्ता भएको टोलीमै रहेका प्रत्यक्षदर्शीले जानकारी दिएको उनले बताए । शनिबार दिउँसो ४ः ०० बजेसम्म आमा–छोरीको कुराकानी भइरहेको जानकारी दिँदै उनले राति करिब ८ः०० बजे एक्कासि बेपत्ता भएको जानकारी आएपछि दाजुको घरमा गएर सम्पर्कको प्रयास गरिरहेको र रसुवाको प्रहरीसँग सम्पर्क गरेको बताए ।
तीन सन्तान एकैपटक बेपत्ता भएपछि पिता कृष्णबहादुर श्रेष्ठ र आमा सरिता श्रेष्ठ गहिरो शोकमा रहेका छन् । पाँच छोरी र एक छोरा रहेका श्रेष्ठ दम्पतीका एक छोरा र दुई छोरी एकै पटक बेपत्ता भएपछि हिजैदेखि परिवार न भोक न निन्द्रा सबै छाडेर पीडामा डुबेको छ । उनीहरूको अवस्था अझै अज्ञात रहेकाले तीव्र रूपमा खोजी कार्य गरिदिन काका केशवले आग्रह गरे । उनीहरूको अबस्था कस्तो छ भन्ने जानकारी परिवारले कुरिरहेको उनी बताउँछन् ।
यता भक्तपुर क्वाठण्डौँका बेपत्ता रवि श्रेष्ठका बुवा राजु श्रेष्ठ शनिबार ३ः०० बजेसम्म छोरोको आमा बुद्धलक्ष्मीसँग कुराकानी भइरहेको र होटलमा पुगेको जानकारी गराएको बताउँछन् । बीचमा फोन गर्दा सम्पर्क नभएको तर राति करिब ८ः ०० बजे एक्कासि सामाजिक सञ्जालमा बेपत्ता भएको खबर आएपछि रसुवा प्रहरीसँग सम्पर्क गरेर जानकारी लिएको उनले बताए ।
रवि बेपत्ता भएको खबरसँगै उनका वृद्ध हजुरबुबा, हजुरआमा, आमा बुद्धलक्ष्मी, बहिनी रविना र बुवा राजुको आँखा ओभाएको छैन भने खोजी गरेर सकुशल रहेको खबर सुन्ने आशामा सिङ्गो परिवार यतिखेर खबर कुरिरहेको छ ।
शुक्रबार बिहान करिब ४ः ०० बजे साथीसँग घुम्न निस्केको छोरा बेपत्ता भएको खबरले शनिबार साँझदेखि श्रेष्ठ परिवार र आफन्तजन पीडामा छन् । छोराको छिटो खोजी गरिदिन रविका बुवा राजु सरकारलाई आग्रह गर्छन् ।
यसबारेमा जानकारी लिँदा जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर बेपत्ताको खोजी कार्य जारी राखेको जानकारी दिए ।
उनले नुवाकोटको सिमानासम्म खोज तथा उद्धार टोली परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्य भइरहेको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बिहानदेखि बेपत्ताको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । रासस


