काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढीपहिरोको उच्च जोखिम पूर्वानुमान गरेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आजको बैठकले बीपी राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । समितिले साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्मको अवधिमा सवारीसाधन नचलाउन भनेको हो ।
राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुण्डे–सिन्धुलीसीमा नेपालथोकको सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताएका छन् ।
राजमार्गमा मनसुनको जोखिमका कारण गत भदौ १६ गतेदेखि १५ दिनसम्मका लागि पनि सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
समितिले हाल मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपीलसमेत गरेको छ ।
समितिका अनुसार, काठमाडौंबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ ।
मनसुनजन्य विपद्बाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले यही असार ७ गतेदेखि बीपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
गत वर्ष असोजमा बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडक नै बगाएको थियो । सो राजमार्गमा कतै एकतर्फी त कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ ।
बाढीपहिरोले राजमार्गको कुल १६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथो खण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो । रासस


