मुग्लिन–नारायणगढ सडक दुईतर्फी नै सवारी सञ्चालन
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा मंगलबार बिहानसम्म पहिरोको कुनै अवरोध नरहेको र सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
“मुग्लिन–नारायणगढ सडकखण्डमा कुनै पनि अवरोध छैन, सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा रहेको छ,” सडक डिभिजनले मंगलबार बिहान ८ः३० बजे जारी गरेको सूचनामा उल्लेख छ ।
लेन अनुशासनको पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ । “चाडपर्वमा सवारीसाधनको उच्च चाप हुने भएकोले कृपया गति सीमितमा रही लेन अनुशासनको पालना गर्नुहुन अनुरोध गरिन्छ,” सडक डिभिजनले भनेको छ ।
सोमबार (असोज १३) चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक सडकमा पहिरो खस्दा करिब ६ घण्टा बाटो अवरुद्ध भएको थियो । यो वर्ष उक्त स्थानमा पटक–पटक पहिरो खसेर लामो समय सडक अवरुद्ध भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२ १०:४६
प्रतिक्रिया दिनुहोस्


