
तनहुँ। कास्की, चितवन र नख्खु कारागारबाट भागेका कैदीबन्दी तनहुँमा पक्राउ परेका छन् । यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण मुलुकका विभिन्न कारागारबाट फरार भएका ६ जना कैदीबन्दी र ४ जना थुनुवालाई तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
कास्की कारागारका चार कैदी र दुई थुनुवा, चितवन कारागारका एक कैदी र एक थुनुवा, नख्खु कारागारका एक कैदी र एक थुनुवा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए । पक्राउ परिएका कैदीबन्दीलाई सम्बन्धित कारागार पठाइएको उनले बताए ।
भर्याङमुनि कम्प्युटर राखेर प्रशासनका सेवा सुरु
‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले आजदेखि आंशिक सेवा प्रवाह सुरु गरेको छ । कार्यालयले भर्याङमुनि कम्प्युटर राखेर सेवा सुरु गरेको हो ।
आज एक जनाको जनजाति प्रमाणितका लागि सिफारिस सेवा प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए। सबै कोठाहरू जलेकाले व्यवस्थित गरेर सेवा प्रवाहलाई सहज बनाउने प्रयास भइरहेको उनले बताए ।
यही भदौ २४ गते प्रदर्शनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर भवनसहित गाडी र मोटरसाइकलमा क्षति पुर्याएका थिए । आगलागीबाट विभिन्न शाखामा क्षति पुग्नुका साथै कागजात, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आगजनीबाट कार्यालयको भवन तथा अन्य कार्यालय प्रयोजनका सामग्री जलेर नष्ट भएकाले वैकल्पिक व्यवस्था गरी आंशिक रूपमा सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, कार्यालयका कर्मचारीलगायतको सहभागितामा आइतबार कार्यालय परिसरको सरसफाइ गरिएको थियो । रासस