
पर्वत । जिल्ला कारागार पर्वतमा जेलजीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका निम्ति थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्जतसहित भगाएको भन्दै प्रहरीले शनिबार (भदौ २८) एक महिलासहित १४ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद सापकोटाका अनुसार, कुश्मा नगरपालिकाका १२, विहादी गाउँपालिकाका एक र चितवनका एकजनालाई पक्राउ गरिएको हो । नियन्त्रणमा रहेका सबैलाई हिरासतमा राखी कारागार ऐन, २०७९ को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्योगअन्तर्गत अनुसन्धान अघि बढाइएको उनले बताए । यीमध्ये केही युवा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा समेत पक्राउ परेका छन् ।
पर्वत जिल्ला कारागारबाट यही भदौ २५ गते राति १९ कैदीबन्दी फरार भएका थिए । प्रहरीले फरारमध्ये पाँच र कास्की कारागारबाट भागेका पाँच गरी १० जनालाई नियन्त्रणमा लिई पुनः कारागार चलान गरिसकेको छ ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार, पर्वत जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गर्न समेत आग्रह गरिएको छ । यसरी फरार रहेका व्यक्तिहरू कहीँ कतै देखेको अवस्थामा प्रहरीलाई खबर गरेर सहयोग गर्न पनि अनुरोध गरिएको छ । रासस