Khabar Out
पहिलो महिला प्रधानमन्त्री राष्ट्रको गौरव: इन्दिरा

काठमाडौँ । विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गरेकोमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएकी छिन् ।

पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै रानाले शुभकामना दिदै यो उपलब्धि सम्पूर्ण नेपाली महिला मात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरवको विषय बनेको बताएकी छिन् । नेपालको राजनीतिक, सामाजिक र कानुनी क्षेत्रमा महिलाको अधिकार, समानता र सशक्तीकरणका लागि लामो समयसम्म गरेको कार्कीको सङ्घर्ष, इमानदारिता र निष्पक्ष योगदानको उनले प्रशंसा गरेकी छिन् ।

बधाई सन्देशमा भनिएको छ “ महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईँको कार्यकाल ऐतिहासिक साबित हुने विश्वास लिएको छु । संविधानले सुनिश्चित गरेका महिला अधिकार, समावेशिता, न्याय र सुशासनका सवालमा तपाईँको नेतृत्वले मुलुकलाई नयाँ ऊर्जा दिनेछ भन्ने अपेक्षा गर्दछु ।”

उनले कलिला बालबालिकाको बलिदानबाट आफूहरू हामी मर्माहत भएको उल्लेख गर्दै त्यही बलिदानको जगमा अर्को इतिहास कोर्दै आमालाई पहिलो महिला प्रधानमन्त्री बनाएको विज्ञप्तिमा बताएकी छिन् । पूर्व उपसभामुख रानाले हजारौँ आमाहरू रोए पनि महिलाको एउटा इतिहास कोरिएकामा खुसी व्यक्त गरेकी छिन् । रासस

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update