Khabar Out
रानी जमराको कृषि कार्यक्षेत्र सात स्थानीय तहमा विस्तार

कैलाली । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ ।

कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरतप्रसाद कँडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा तेस्रो चरणको कार्यक्रम कार्यान्वयन हुँदै छ । यो कार्यक्रमअन्तर्गत १८ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । 

आयोजना कार्यान्वयन भएसँगै बिजवृद्धिमा प्रगति भएको छ । टीकापुर क्षेत्रबाट देशका १४ जिल्लामा उन्नत बीउ निर्यात हुँदै आएको छभने आयोजनाले केराखेती विस्तारमा गरेको सहयोगले टीकापुरमा ४५० हेक्टर क्षेत्रमा केराखेती हुँदै आएको छ । सागसब्जीखेतीबाट किसानलाई आत्मनिर्भर बनाएको छ । वसन्ते मकैखेती विस्तारमा आयोजनाले काम गरिरहेको छ भने किसानलाई आधुनिक कृषिमा आकर्षित गर्न यान्त्रिकीकरणमा सहयोग रहेको एकाइ प्रमुख कँडेल बताउछन् ।

आयोजनाको तेस्रो चरणमा चैते धान विस्तार, वसन्ते मकै उत्पादन, आलु उत्पादनलाई बढी प्राथमिकता दिएर किसानलाई सहयोग गर्ने तयारी गरेको छ । चैते धानको उत्पादन उत्साहवर्धक भइरहेको र आयोजनाले सिँचाइको पहुँच पुर्याउने भएकाले चैते धानको उत्पादन मनग्गे हुने आयोजनाको विश्वास छ । 

त्यसैगरी मकै उत्पादनमा जोड दिँदै पशुपन्छीको दानामा किसानलाई आत्मनिर्भर बनाउनतर्फ आयोजनाले ध्यान दिइएको छभने आयोजनाले आलुखेतीलाई रणनीतिक बालीका रूपमा अगाडि बढाउने योजना रहेको प्रमुख कँडेलले बताए । कृषि उपज भण्डारण गर्न एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको छ । तेस्रो चरणको कार्यक्रम सन् २०३१ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update