Khabar Out
फेरि फैलिन थाल्यो लम्पी स्किनको सङ्क्रण

ताप्लेजुङ । ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशुचौपायामा सङ्क्रमण देखिएको हो ।

केन्द्रका प्रमुख डा रोशन दाहालका अनुसार हालसम्म ३४ पशु बस्तुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण सिदिङ्वा गाउँपालिकाका– २, मेरिङदेनका १०, सिरिजङ्गाका ५, फक्ताङलुङका दुई, फुङलिङ नगरपालिकाका ७ र आठराई त्रिवेणी गाउँपालिकाका आठ पशु बस्तुमा देखिएको छ ।

SRS AD

सुरुमा फुङलिङ नगरपालिका–१० फुरुम्बु र वडा नं ७ तथा ८ दोखुमा देखिएको थियो । लक्षण देखिएपछि पशुपालकको सूचनाका आधारमा नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । जिल्लाको मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने हालसम्म सङ्क्रमण नदेखिएको जनाएको छ ।

सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अन्य सम्बन्धित निकायले सङ्क्रमण नियन्त्रणका लागि रोकथाम उपाय अपनाएका छन् । हालसम्म चार हजार सात सय ५० डोज लम्पी स्किनविरुद्धको खोप वितरण भइसकेको बताइएको छ ।

सङ्क्रमण फैलिन नदिनको लागि पशुपालकलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ । रासस

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update