
गोरखा । दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् । तीस वर्षकी उनीसँगै छरछिमेकका अन्य छोरी बुहारीहरु कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरु यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ, ‘घरधुरी २१, शौचालय एक’ भएर हो ।
बारपाकको पुछारमा रहेको दलितबस्ती सबै हिसाबले पिछडिएको छ । २०७२ सालको विनाशकारी भूकम्प गएको १० वर्ष बितिसक्दा पनि यहाँका बासिन्दा अझै त्रिपालभित्र बस्न विवश छन् । दलितबस्तीको मुख्य समस्या शौचालय हो । २१ घरधुरी रहेको दलितबस्तीमा जम्मा एउटा शौचालय छ । त्यो पनि जीर्ण । राम्रोसँग ढोका पनि नलाग्ने ।
सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको अर्का स्थानीयको गुनासो छ ।
शौचालय नहुँदा विशेषगरी यहाँका महिला तथा किशोरीहरु समस्यामा छन् । १६ वर्षकी अर्की किशोरी अमृता बिकले घरैपिच्छे शौचालय नहुँदा धेरै दुःख सहनु परेको गुनासो गरिन् । उनले भनिन्, ‘सबैभन्दा धेरै समस्या महिनावारीको समयमा हुन्छ । एउटा मात्र शौचालय छ, बिहान बेलुका धुँइचो लाग्छ । राती पनि जाँडरक्सी खाएका केटाहरुले धेरै फोहोर गर्दिन्छन् ।’ व्यवस्थित शौचालय नहुँदा बस्तीका मानिसले खुल्ला दिसापिसाव गर्न बाध्य रहेको उनको भनाइ छ ।
एक्काइस घरधुरीका ५० भन्दा धेरै व्यक्तिले एउटै शौचालय प्रयोग गर्दा बस्तीमा बेलाबखत सरुवा रोग समेत फैलिने गरेको छ । स्थानीय मङ्गलबहादुर सुनारका अनुसार बस्तीमा हैजा, ज्वरो, झाडापखाला, रुघाखोकी लगायतका सरुवा रोगहरु फैलिरहन्छ । उनका अनुसार कोभिड महामारीको समयमा मात्र बस्तीका पाँच जनाको मृत्यु भएको थियो ।
आफूहरु फोहोरमैलामा बसेका कारण सामाजिक रुपमा अपहेलित हुनु परेको अर्की स्थानीय ५७ वर्षकी मैती सुनारले बताइन् ।
२०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघारसय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यू भयो । बाँचेकाहरु पनि महिना दिनसम्म चौरमा, बारीका गरामा बास बसे ।डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी बिक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ घरधुरी फेरि आ–आफ्नै थातथलोमा फर्किए ।
डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो । फर्किन सक्ने अबस्था नभएपछि उनीहरुले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । पहल गरेको १० बर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन् । राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० बर्ष बितिसक्दासम्म टहरोकै बास छ ।
यहाँका दलित समुदायका अगुवा सुकबहादुर बिकले दलित समुदायलाई बास माग्दै ८६ पटक सिंहदरबार धाएको बताए । “मैले बुझेअनुसार हामीलाई अन्याय भएको राजनीतिक प्रतिशोधले हो”, उनले भने, “यो दलित बस्तीलाई पुनस्थापना गर्ने लडाइँ १० बर्ष भइसक्यो, प्रगति छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब बनाइदिन्छन् ।” पूर्वसहमति अनुसार यहाँको ६ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपूर्जा दिनुपर्ने अर्का अगुवा दलित उत्तम बिकले बताए । गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै बैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने देखिएको बताउँछन् ।