पाल्पा । श्रीमान् गुमाएको पीडा । भूकम्पले चर्किएको घर । वर्षायाममा कसरी ओत लाग्ने होला भन्ने चिन्ता । रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाका लागि विगतका दिन सहज थिएनन् । दुःखपछि सुख फर्किन्छ भने जस्तै, यसपटकको तिहार उनका लागि विगतभन्दा फरक हुने भएको छ ।
सुरक्षित घर पाएपछि रानाले खुसी व्यक्त गर्दै भनिन्, “हाम्रा दुःखका दिन सकिएको जस्तो लागेको छ ।” उनले घर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । अब चर्किएको घरमा डरैडरमा रात काट्नुपर्ने वाध्यता हटेको छ । नयाँ सुरक्षित घरमा परिवारसँगै उज्यालोको पर्व मनाउने अवसर प्राप्त भएको छ । रानासँगै रामपुर नगरपालिका–२ खयरबोटकी बन्दना विश्वकर्मा र वडा नं ६ माझटोलकी गनमाया घर्तीको जीवनमा नयाँ खुसी थपिएको छ ।
रामपुर नगरपालिका, गैरसरकारी संस्था ‘निवास’ को सहयोग, टुकी फाउन्डेसन आर्थिक साझेदारीमा निर्माण गरिएका दुई कोठे भूकम्प प्रतिरोधी घर र शौचालय पाएपछि उनीहरुले सुरक्षित आवासको सपना पूरा गरेका छन् । “चर्किएको पुरानो घरमा डरैडरमा दिन काट्नु परेको थियो, अहिले चिटिक्क परेको आफ्नै सुरक्षित घर पाउँदा खुसीको सीमा नै छैन,” घरको साँचो बुझ्दै घर्तीले खुसी व्यक्त गरिन् ।
तीन परिवारलाई घर हस्तान्तरण गर्दै नगर प्रमुख रमणबहादुर थापाले आवाससँगै आत्मनिर्भर बनाउने कार्यक्रम अघि बढाइने बताउनुभयो । बालबालिकाको शिक्षा र परिवारको आयआर्जनमा नगरपालिकाले सहयोग गर्ने उनको भनाइ छ ।
टुकी फाउन्डेसनका कार्यकारी निर्देशक शिला सेनका अनुसार एउटा घर निर्माणमा आठ लाख १४ हजार ६८० खर्च भएको छ । नगरपालिकाले प्रतिघर रु दुई लाख ५० हजार सहयोग गरेको छ भने बाँकी रकम फाउन्डेसनले व्यहोरेको हो ।
घर हस्तान्तरणसँगै उनीहरूलाई आफूले रोजेको व्यवसाय सञ्चालन गर्न प्रतिपरिवार रु ३० हजार सहयोग गर्ने योजना छ । वर्षायाममा ओतको चिन्ता र सधैँ असुरक्षित घरको पीडा बोकेका यी आमाका लागि यसपटक तिहार केवल बत्ती बाल्ने पर्व मात्र हुने छैन, सुरक्षित घरमा नयाँ आशा र खुसी साट्ने अवसर बन्नेछ । रासस







