Khabar Out
जीप भासिएको स्थानको पानी संकलन गरी परीक्षणनिम्ति पठाइयो

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँको सडकमा यही वैशाख १९ गते बोलेरो जीप भासिएर बेपत्ता भएको भनिएको घटना अध्ययननिम्ति आएको टोली काठमाडौं फर्किएको छ । भूगर्भविद्को टोली जीप भासिएको भनिएको स्थान वरिपरि बोरिङ गरिएको पानी संकलन गरेर ल्याब परीक्षणनिम्ति बुधबार (वैशाख २४) काठमाडौं फर्किएको हो ।

टोली प्रमुख नारायण अधिकारीले उक्त स्थान वरिपरिको जमिन झन् भासिँदै गएकाले अनुसन्धान कार्यमा अवरोध भएको बताए । पानीको ल्याब परीक्षणबाट प्राप्त हुने रिपोर्टपछि दोस्रो चरणको अनुसन्धान र खोजतलास कार्यलाई तीव्रता दिइने उनले उल्लेख गरे।

टोलीले मंगलबार र बुधबार उक्त स्थान वरिपरि खोजतलास गरेको थियो । तर, हालसम्म जीप फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार, भासिएको स्थान वरिपरि आवतजावत रोकिएको छ । मानवीय र अरू सवारीसाधनको क्षति हुन नदिन प्रहरीले उक्त स्थानलाई सुरक्षा घेरामा राखेको छ । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update