Khabar Out
२० वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका २० वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विनोद घिमिरेले ६ वटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको युएनपार्क, एयरपोर्ट, नयाँबसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालिमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दिपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटार लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको जनाएको छ ।

subisu

आज बुझाइएका २० वटा सहित ३३७ वटा सवारी साधन साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ३६ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५३ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाईएका २० वटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए ।

सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०७९/०८० मा ४९९ ओटा र ०८०/०८१ मा ४१७ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपक गिरीले अनुरोध गरेका छन ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update