काठमाडौं । पूर्वी लिबियाको बेन्गाजीस्थित नौसैनिक अखडामा रोकिएको रुसी युद्धपोतमा आइतबार बिहान शंकास्पद ड्रोन आक्रमण हुँदा विस्फोट भएको छ । घटनामा केही व्यक्ति घाइते भएका छन् । मानवीय क्षतिको विवरण आएको छैन ।
पूर्वी लिबियाली प्रशासनका अनुसार प्रारम्भिक अनुसन्धानले पानीजहाजमा ड्रोन आक्रमण भएको आशंका गरिएको छ । स्याटेलाइट तस्बिर प्रदायक ‘भ्यान्टर’का अनुसार आक्रमणमा परेको जहाज रुसी नौसेनाको कोर्भेट ‘मर्करी’ हो । आइतबार खिचिएका तस्बिरमा जहाजको अधिकांश भाग डुबेको र अग्रभाग मात्र पानीमाथि देखिएको छ ।
रुस र पूर्वी लिबियाली प्रशासनबीचको सहयोग सम्झौताअन्तर्गत रुस फर्कने क्रममा इन्धन भर्न र आवश्यक सामग्री लिन उक्त युद्धपोत बेन्गाजी बन्दरगाहमा रोकिएको थियो ।
पूर्वी प्रशासनले बन्दरगाह र नौसैनिक अखडाका अन्य संरचना सुरक्षित रहेको जनाएको छ । घटनाको अनुसन्धान रुससँग मिलेर अघि बढाउने तथा आक्रमणमा संलग्न व्यक्तिविरुद्ध कानुनी र कूटनीतिक कदम चाल्ने पनि उसले बताएको छ ।
आइतबार दिउँसोसम्म आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । प्रशासनले रुस–युक्रेन युद्धलगायत कुनै पनि बाह्य सशस्त्र द्वन्द्वमा लिबिया संलग्न नरहेको स्पष्ट पार्दै आफ्नो भूभाग र जलक्षेत्रलाई अन्तर्राष्ट्रिय द्वन्द्वको अखडा बन्न नदिने जनाएको छ । डीडब्ल्यू







