Khabar Out
कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस जलवायु सम्झौताको लक्ष्य कार्यान्वयन गर्ने विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन अन्योलपूर्ण अवस्थामा टुङ्गिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) का आगामी वैज्ञानिक प्रतिवेदन प्रकाशनको समयतालिकाबारे साउदी अरेबिया, भारत र केन्याले असहमति जनाएपछि वार्तामा थप विवाद भएको हो । सन् २०२८ मा हुने उत्सर्जन न्यूनीकरण प्रयासको समीक्षाअघि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने युरोप, अफ्रिका र प्रशान्त क्षेत्रका राष्ट्रहरूको माग छ ।

मस्यौदामा तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिमप्रति चिन्ता व्यक्त गरिए पनि त्यसलाई रोक्ने ठोस उपायमा सहमति हुन सकेन । बेलायतकी जलवायु वार्ताकार केट ह्युजले प्रस्तावित दस्तावेजले जलवायु विज्ञान र सामूहिक महत्वाकांक्षालाई कमजोर बनाएको बताइन् ।

त्यसैगरी, विकासशील राष्ट्रलाई जलवायु अनुकूलनका लागि सहयोग गर्ने एक खर्ब २० अर्ब अमेरिकी डलरको लक्ष्य मस्यौदाबाट हटाइएपछि असन्तुष्टि बढेको छ । मार्सल टापुकी जलवायु दूत क्याथी जेटनिल–किजिनरले आर्थिक सहयोगबिना जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुने बताइन् ।

नेपालसहित विश्वका विभिन्न क्षेत्रमा जलवायुजन्य विपद् बढिरहेका बेला उत्सर्जन न्यूनीकरण र प्रभावित राष्ट्रलाई सहयोग गर्ने विषयमा ठोस निर्णय हुन नसक्दा सम्मेलनको समापन निराशाजनक बनेको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update