पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त छन्।
पालिकाभित्र धेरै अन्नबाली फलाउने कृषकलाई पुरस्कार दिने कार्यक्रमका सिलसिलामा उनीहरु हाल खलो पुगेर कस्को कति धान फल्यो भनी विवरण लिन सक्रिय छन् । सो गाउँपालिकाले आव २०७७–७८ देखि कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत धान थन्क्याउने समयमा खलोबाटै तथ्याङ्क लिन सुरु गरेपछि वडाका जनप्रतिनिधि फाँट–फाँटमा पुगेका हुन्।
सो कार्यक्रमबाट लाभ लिन कृषक उत्साहित भएपछि अन्नबालीको नापजाँच गर्दै गाउँपालिकाको टोली केही वर्षदेखि यो समयमा कृषकका खेतमा पुगिरहेको छ । सोही सन्दर्भमा मिक्लाजुङ–७ लिम्बाका बमबहादुर बोहोराले लिम्बा दोभानस्थित तीन खला खेतमा धान झार्ने कार्यक्रम वडा कार्यालयमा जानकारी गराए ।
यसैगरी, खलामा धान झारेर भुस उडाएपछि वडाध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं र कृषि प्राविधिक रीता राईको रोहवरमा धान भरियो । कृषक बोहोराको खलामा भरिएको धान ठयाक्कै २५ मुरी पुग्यो । यस वर्ष बोहोराले त्योसहित ७० मुरीभन्दा बढी धान भित्र्याएका रहेछन् ।
गाउँपालिकाभित्र उनले नै धेरै धान उत्पादन गरेकाले प्रोत्साहन पुरस्कार पाउने सम्भावना देखिएको वडाध्यक्ष रेग्मीले प्रतिक्रिया दिए । “बोहराले धान मात्र होइन, गोठे मलमा पनि पुरस्कार पाउने हुनुभएको छ,” वडाध्यक्ष रेग्मीले भने, “पालिकाको प्रोत्साहन कार्यक्रममार्फत कतिपय कृषकले एकभन्दा बढी उत्पादनमा पनि पुरस्कार पाइरहनु भएको छ ।”
मिक्लाजुङ गाउँपालिकाले कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत आव २०८१–८२ देखि अन्नबाली उत्पादन र मल उत्पादनमा पनि प्रोत्साहन दिँदै आएको गाउँपालिकाका प्रवक्ता अविशन लावतीले बताए । उनका अनुसार पालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई रु ५० हजार, २० फिट लम्बाइ र चार फिट उचाइ भएको मकैको थाङ्ग्रो राख्नेलाई रु ३० हजार, ३५ मनभन्दा बढी आलु उत्पादन गर्नेलाई रु २५ हजार तथा १० घनमिटरभन्दा बढी प्राङ्गारिक मल बनाउनेलाई रु २५ हजार पुरस्कार दिँदै आएको छ ।
गाउँपालिकाले त्यसका लागि आफ्नो अन्न उत्पादन भित्र्याउनुअघि पूर्वसूचना दिनुपर्ने तथा जनप्रतिनिधि, कर्मचारी र प्राविधिकले कडाइका साथ अनुगमन गर्ने व्यवस्था गरेको छ । सो मापदण्डअनुसार पुरस्कार दिँदा वार्षिक रुपमा करिब रु दुई करोड रकम खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष मापदण्डलाई केही कसिलो तुल्याउन लागेको छ । “उत्पादन बढाउन कार्यविधिमा सामान्य फेरबदल गर्न लागेका छौँ”, प्रवक्ता लावतीले भने, “विगतभन्दा धेरै अन्तर हुँदैन । अहिले पनि कृषकले राम्रो लाभ पाउनु हुन्छ ।”
पुरानो मापदण्डअनुसार नै यस वर्ष पनि धान, मकै र आलु उत्पादन तथा मल भण्डारणवारे पूर्वजानकारी दिन वडामार्फत कृषकलाई यसअघि नै सूचित गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख दीपा राईले जानकारी दिइन् ।
सोही सूचनाअनुसार कृषकहरुले वडा कार्यालयमा दिएको निवेदनका आधारमा पालिका प्रतिनिधिबाट यतिबेला धान नापजाँचको क्रम चलिरहेको उनले वताइन् ।
कोभिड–१९ पछि ग्रामीण क्षेत्रलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन गाउँपालिकाले ४० मुरीभन्दा बढी धान फलाउने र चार फिट उचाइ तथा २० फिट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई रु एक लाख पुरस्कार प्रदान गर्दैआएको छ ।
त्यस्तै, ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिने गरेकामा लाभग्राही कृषक धेरै भएपछि गाउँपालिकाले पछिल्लो पुरस्कारको रकम घटाएको छ ।
गत वर्ष मात्रै कृषक प्रोत्साहन पुरस्कारमार्फत गाउँपालिकाले ५८६ जना कृषकलाई रु एक करोड ८५ लाख ६५ हजार रकम वितरण गरेको थियो ।
प्रवक्ता लावतीका अनुसार गत वर्ष धान उत्पादन गर्ने १०७ जनालाई रु ५३ लाख ५० हजार र मकै उत्पादन गर्ने २४८ जनालाई रु ७४ लाख ४० हजार पुरस्कार बापतको रकम उपलब्ध गराइएको छ।
त्यस्तै, आलु उत्पादन गर्ने ६७ जना कृषकलाई रु १६ लाख ७५ हजार र मल उत्पादन गर्ने १६४ जना कृषकलाई पालिकाले रु ४१ लाख पुरस्कार बापतको रकम वितरण गरेको थियो । पुरस्कार प्राप्त गर्ने लाभग्राही कृषकको सङ्ख्या बर्षेनि वृद्धि हुँदा अन्नबाली उत्पादन पनि बढिरहेको प्रवक्ता लावतीले बताए ।
पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि ५० मुरीभन्दा बढी धान फलाउनेलाई रु ३० हजार र १०० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई रु ५० हजार प्रोत्साहन पुरस्कार दिँदै आएको छ । जिल्लामा फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका धेरै अन्नबाली उत्पादन हुने र सिँचाइका तुलनात्मक रुपमा राम्रो सुविधा भएका पालिकाका रुपमा रहिआएका छन् । रासस







