Khabar Out
दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

कर्णाली । यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल र कबड्डी सुर्खेतमा सञ्चालन हुनेछन्।

त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र इस्पोर्ट्स पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए।

उनका अनुसार टेनिस र महिला तथा पुरुष खो–खो बर्दियामा तथा पौडी र सुटिङ नेपालगन्जमा हुनेछ। त्यस्तै, जुडो र कुस्ती सल्यान, आइटिएफ तेक्वान्दो दैलेख, महिला तथा पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्ला, बुद्धिचाल कालीकोट र शारीरिक सुगठन रुकुमपश्चिममा आयोजना गरिनेछ।

सदस्यसचिव मेहताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई तथा जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल हुनेछन्। त्यस्तै, लुम्बिनी प्रदेशका बाँके र बर्दियामा दुई–दुई खेल सञ्चालन गरिनेछ। केही खेल यही मङ्सिर ८ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते गरिनेछ।

प्रतियोगितामा छ हजार खेलाडी र तीन हजार अफिसियल गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरिएको छ। रासस

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update