झापा । दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता आजदेखि शिवसताक्षीस्थित दुधे रंगशालामा हुने छ । रंगशालामा सात हजार दर्शकले एकैपटक प्रतियोगिता हेर्न सकिने गरी अस्थायी प्याराफिट जडान गरिएको छ । गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले उद्घाटन खेल आयोजकको झापा ११ फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबबीच बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद ११ लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद पाँच लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार रुपैयाँ र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको अध्यक्ष थोप्राले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद १५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।







