Khabar Out
भीमफेदी जिप दुर्घटना :  तीन जनाको मृत्यु , सात जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसे बजार नजिक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब साढे ८ बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेको हो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ । उपचारका क्रममा अस्पतालका चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत कात्तिक २६ गते पनि भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए । काठमाडौंबाट सर्लाही जाँदै गरेको उक्त माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेको थियो ।

भीमफेदी क्षेत्रमा छोटो समयमै भएका दुई ठूला सवारी दुर्घटनाले यस क्षेत्रको सडक सुरक्षा र जोखिम न्यूनीकरणको विषयलाई पुनः चर्चामा ल्याएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update