बाँके । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बाँकेमा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनको तयारी गरिएको छ ।
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले जिल्लामा रहेका मतदानस्थल र मतदान केन्द्रको अवस्थाबारे सम्बन्धित स्थानीय तहका वडा कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख युवराज पन्तले जानकारी दिए ।
उनका अनुसार वडास्तरमा पुनरावलोकनको काम सम्पन्न भएपछि जिल्ला तहमा प्रक्रिया अघि बढाइनेछ । वडास्तरीय पुनरावलोकन समितिले सिफारिस गरेका मतदानस्थल तथा मतदान केन्द्रलाई जिल्लास्तरीय समितिले अन्तिम टुङ्गो लगाउनेछ ।
बैठकमा जिल्ला निर्वाचन कार्यालयले जिल्लामा हाल कायम रहेका मतदानस्थल तथा मतदान केन्द्रको अवस्थाबारे प्रस्तुतीकरण गरेको थियो । बाँकेमा हाल १३९ मतदानस्थल र ४०० मतदान केन्द्र रहेका छन् । गत भदौ १५ सम्म जिल्लामा तीन लाख ५६ हजार ३९८ मतदाता रहेका छन् । तीमध्ये एक लाख ८१ हजार ३१८ पुरुष, एक लाख ७५ हजार ७० महिला र १० अन्य मतदाता छन् ।
समितिमा जिल्लामा सक्रिय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुख सदस्य रहेका छन् । बाँकेमा नेपालगन्ज उपमहानगरपालिकासहित आठ स्थानीय तह छन् । रासस







