Khabar Out
प्रश्नको कठघरामा जनप्रतिनिधि: निकुञ्जदेखि विद्यालयसम्मका गुनासा

मकवानपुर । सभाहलमा स्थानीयको भीड थियो । कसैको हातमा प्रश्न थियो, कसैको मनमा वर्षौँदेखिको गुनासो । अगाडि जनप्रतिनिधि थिए । छेउमा कर्मचारी । त्यसको बीचमा थियो–सार्वजनिक सुनुवाइको खुला मञ्च ।

हेटौँडा उपमहानगरपालिका–१३ का नागरिकले सोमबार यही मञ्चलाई आफ्ना समस्या सुनाउने अवसरका रूपमा प्रयोग गरे । उनीहरुले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, राजस्वदेखि निकुञ्ज र भूमिहीनको समस्यासम्मका सवाल उठाए । त्यहाँ प्रश्न केबल गुनासो मात्रै थिएनन्, स्थानीय सरकारप्रतिको अपेक्षा र जबाफदेहिताको माग थियो ।

स्थानीय अगुवा बगानसिं थिङले सार्वजनिक सुनुवाइले नागरिकको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने बाटो खोलिदिएको बताए । उनले स्थानीय सरकारलाई जबाफदेही बनाउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राखे ।

“सार्वजनिक सुनुवाइबाट नागरिकले आफ्ना समस्या सम्बन्धित निकायसमक्ष प्रत्यक्ष राख्न पाएका छन् । यसले स्थानीय सरकारलाई नागरिकप्रति थप जबाफदेही बनाउन सहयोग गर्छ”, थिङले भने ।

उनले वडाबाट सिफारिस भएका योजनामा आवश्यक बजेट विनियोजन गर्न उपमहानगरपालिकासँग आग्रह गरे । विनियोजन भएको बजेट समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

योजना कार्यान्वयनमा हुने ढिलाइबारे पनि उनले प्रश्न राखे । कर्मचारी अभावका कारण काम रोकिएको हो कि ढिलासुस्तीका कारण काम अघि नबढेको हो भन्ने विषय स्पष्ट हुनुपर्ने उनले बताए । कार्यालय समयमै कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन आग्रह गरे ।

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न नागरिकलाई उत्साहित बनाउने भूमिका वडा कार्यालयले निर्वाह गर्नुपर्ने उनले बताए । यसमा उपमहानगरपालिका कार्यालय अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

वडामा सडक निर्माणको काम तीव्र हुनु सकारात्मक पक्ष भएको बताउँदै थिङले सडकको क्षेत्र र सीमाबारे नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने धारणा राख्नुभयो । नागरिकलाई जानकारी दिएर विकास निर्माणका काम अघि बढाउन सके विवाद कम हुने उनले सुनाए ।

सार्वजनिक सुनुवाइको अर्को महत्त्वपूर्ण विषय शिक्षा बन्यो । तीनकुने टोल विकास संस्थाका सचिव जगनाथ पौडेलले विद्यार्थीलाई मात्र होइन, अभिभावक र समुदायलाई पनि शिक्षित बनाउनुपर्ने कुरा उठाए ।

उनले वडाका नागरिकलाई नैतिक तथा अभिभावक शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । “शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयसँगै अभिभावकको भूमिका बलियो बनाउनुपर्छ । त्यसका लागि वडाले नैतिक तथा अभिभावक शिक्षा दिने कार्यक्रम ल्याउन आवश्यक छ”, पौडेलले भने ।

कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक रामकृष्ण न्यौपानेले विद्यालयमा शौचालयजस्तो आधारभूत सुविधा अभाव हुन नहुने बताए । उनले शैक्षिक क्षेत्रको विकासमा जनप्रतिनिधिबाट आवश्यक सहयोग प्राप्त भइरहेको जानकारी गराए ।

महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठले नीति र व्यावहारबिचको अन्तरबारे प्रश्न उठाउनुभयो । आधारभूत तथा माध्यमिक तहका विद्यार्थीलाई नि:शुल्क शिक्षा दिने व्यवस्था भए पनि विद्यालयसँग पर्याप्त स्रोत नहुँदा केही रकम शुल्कका रूपमा लिनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

“निःशुल्क शिक्षाको नीति राम्रो छ । विद्यालय सञ्चालनका लागि आवश्यक स्रोत पर्याप्त छैन । त्यसैले व्यवहारमा केही शुल्क लिनुपर्ने अवस्था छ । नीति र व्यवहारबिचको यो अन्तर समाधान गर्न स्थानीय सरकारले सहजीकरण गर्नुपर्छ”, श्रेष्ठले भने ।

सुन्दरबस्ती टोल विकास संस्थाका अध्यक्ष रामबहादुर वाइबाले विकास योजनाको छनोटमा पहुँच र नाता सम्बन्धभन्दा आवश्यकता प्राथमिकतामा पर्नुपर्ने आवाज उठाए ।

“पार्टीका कार्यकर्ता वा नजिकका आफन्तलाई हेरेर योजना दिने प्रवृत्ति हुनुहुँदैन । आवश्यकताका आधारमा योजना छनोट भए मात्रै विकास समानुपातिक र प्रभावकारी हुन्छ”, वाइबाले भने ।

स्थानीय भीमबहादुर थिङले वडाका सडक पूर्वाधारलाई वडा र पालिका तहबाट उचित सम्बोधन गर्नुपर्ने बताए । सबैभन्दा गहिरो समस्या भने निकुञ्जसँग जोडिएको देखियो । आधामार टोल विकास संस्थाका अध्यक्ष उमेश लामाले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको समस्या समाधान गरी जग्गाधनी पुर्जा उपलब्ध गराउन माग गरे ।

उनले निकुञ्जको सीमाङ्कन स्पष्ट गर्नुपर्ने बताए । आफूहरूले सङ्घर्ष समिति बनाएर पहल गरिरहेको भए पनि समस्या झन् बल्झिने गरेको उनले सुनाए ।

“वर्षौँदेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गाको समस्या समाधान भएको छैन । निकुञ्जको स्पष्ट सीमाङ्कन गरी स्थानीयलाई उचित निकास दिनुपर्छ”, लामाले भने ।

उनले स्थानीय सरकारले यस विषयमा सहजीकरण गर्नुपर्ने बताए । पदमपोखरीमा स्थापना गरिएको अस्पताललाई कार्यालय समयभित्र सीमित नराखी २४सै घण्टा सेवा दिने व्यवस्था गर्न उनले माग गरे ।

चन्द्रोदय आवि शिक्षक अभिभावक सङ्घका अध्यक्ष फुलमाया पाख्रीनले सिमपानी–टुटेपानी जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने पालिका प्रतिनिधिको प्रतिबद्धता सम्झाइन् । स्थानीय रामलाल गोलेले कमेरोपानीमा एम्बुलेन्सको व्यवस्था गर्न माग गरिन् ।

स्थानीयका प्रश्न सुनेपछि जवाफ दिने पालो आयो । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र वडाध्यक्ष पेम्बा लामाले सहभागीका जिज्ञासाको जवाफ दिए ।

उपप्रमुख बानियाँले निकुञ्जका कारण पदमपोखरीका नागरिकले भोग्नुपरेका समस्या स्थानीय सरकारको मात्र प्रयासबाट समाधान हुन नसक्ने बताए । समस्या कानुनी अड्चनसँग जोडिएको भन्दै सङ्घीय सरकारले आवश्यक निर्णय लिनुपर्ने उनले स्पष्ट पारे।

“स्थानीय सरकारले सेवा दिने हो । निकुञ्जसँग जोडिएका कतिपय समस्या कानुनी र सङ्घीय तहसँग सम्बन्धित छन् । त्यसैले त्यसको समाधानका लागि सङ्घीय सरकारले आवश्यक निर्णय गर्नुपर्छ”, बानियाँले भने ।

नागरिकको घरदैलोमा सेवा पुर्‍याउनु जनप्रतिनिधिको धर्म भएको उनले बताए । तर जनप्रतिनिधिलाई कर्मचारीजस्तो बुझ्ने प्रवृत्ति त्याग्न पनि आग्रह गरे ।

हेटौँडा उपमहानगरपालिकाभित्र विकासका लागि १३ नम्बर वडामा सबैभन्दा बढी बजेट परेको वडामध्ये एक रहेको उनले बताए । बजेटको प्रभावकारिताका कारण वडामा विकासका काम प्रभावकारी भइरहेको आफूले पाएको उनले सुनाए ।

शिक्षा र स्वास्थ्यमा भवन बनाउनु मात्रै पर्याप्त नहुने उनले बताए । सेवा र गुणस्तरमा पनि ध्यान दिनुपर्ने उनको जोड थियो । पदमपोखरी अस्पतालमा आवश्यक चिकित्सकसहित जनशक्ति व्यवस्थापन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत काम भइरहेको उनले जानकारी दिए ।

“जनप्रतिनिधिलाई खुसी बनाउन सधैँ राम्रो भनिरहनु पर्दैन । आवश्यक पर्दा खबरदारी गर्नुस्, प्रश्न गर्नुस्”, बानियाँले भने, “जनप्रतिनिधिले कानुनसम्मत रूपमा काम गर्नुपर्छ । नागरिकले पनि आफ्नो अधिकार र कर्तव्य बुझेर खबरदारी गर्नुपर्छ ।”

वडाध्यक्ष पेम्बा लामाले नागरिकका गुनासा सम्बोधन गर्न आफूहरूले व्यावहारिक रूपमा समाधान खोजिरहेको बताए । नागरिकको मागअनुसार योजना र बजेट राख्दा कतिपय अवस्थामा बजेट नै फ्रिज हुने अवस्था आउने गरेको उनले सुनाए ।

“बाहिरबाट प्रश्न गर्न सजिलो हुन्छ । तर जिम्मेवारीमा बसेर काम गर्दा कानुनी, प्रशासनिक र बजेटका विभिन्न समस्या आउँछन्”, लामाले भने।

भूमिहीन तथा सुकुमवासीलाई जग्गाधनी पुर्जा दिने विषयमा निकुञ्जकै कारण समस्या भएको उनले बताए । यस विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी र हेटौँडा उपमहानगरपालिकाका प्रमुखसँग छलफल भइरहेको उनले जानकारी दिए । समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको उनले सहभागीलाई बताए ।

वडालाई थप व्यवस्थित गर्दै विद्युत्, पर्यटन, सडक, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा विकास अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । यसका लागि स्थानीयसँग हातेमालो गर्ने उनको भनाइ थियो ।

सार्वजनिक सुनुवाइमा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले वडा कार्यालय र हेटौँडा उपमहानगरपालिकाबाट नागरिकले पाउने सेवासम्बन्धी सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा पालिकाका योजना र बजेटबारे किरण थापाले जानकारी गराउनुभयो । सूचना अधिकारी भानुभक्त थपलिया, विना थिके, सफल भुजेल, विवेकचन्द्र अधिकारीलगायतको उपस्थिति थियो । वडा सदस्य उत्तम गोम्जा, सानुमाया नेपाली, वडा सचिव शान्तिमाया हिम्डुङ, टोल विकास संस्थाका पदाधिकारी, विद्यालयका प्रतिनिधि, स्थानीय, पत्रकार तथा अन्य सरोकारवालाको पनि सहभागिता थियो । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update