चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन बजारबाट करिब तीन किलोमिटर कुरिनटारतर्फ पर्ने घोप्टेभिरमा सुक्खा पहिरो खस्न थालेपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ३० मिटर माथिबाट ढुङ्गासहित पहिरो खसिरहँदा सडकमा जुनसुकै बेला आवागमन रोकिने जोखिम बढेको छ ।
पहिरोका कारण सवारी आवागमन पटकपटक अवरुद्ध हुँदा यात्रुले घण्टौँ जाममा बस्नुपर्ने अवस्था छ । गत साता नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न काठमाडौँ गएका चितवन राइनोजका दर्शक खेल सकिएपछि चितवन फर्कन १२ घण्टाभन्दा बढी समय सडकमा बिताउन बाध्य भएका थिए ।
शनिबार काठमाडौँबाट चितवन आउँदै गरेका सरोज रेग्मी कुरिनटार पुग्दा लामो जाम देखेपछि आत्तिए । “साँझ नपर्दै घोप्टेभिर पार गर्ने भनेर हतारहतार आएको यहीँ रोकिनुपर्यो”, उनले भने । करिब एक घण्टा पर्खिएपछि उनले सडक पार गरेका थिए । बेलाबेलामा ढुङ्गा खसिरहँदा यात्रा जोखिमपूर्ण बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले समयसमयमा ढुङ्गासहित पहिरो खसिरहेको बताए । सडक सफा गरेर सवारी पार गराउने गरिएको छ । शनिबार सडक रोकेर दुईतर्फी सञ्चालन गरिएको भए पनि आइतबार बिहान पहिरो खसेपछि एकतर्फी सञ्चालनमा आएको उनले जानकारी दिए ।
“आज केहीबेर रोकिएको सडक एकतर्फी भएको छ । सवारी चाप घटेपछि केहीबेर रोकेर दुईतर्फी बनाउनुपर्छ”, उनले भने । सडक रोकिँदा सवारी चालकले लेन मिच्ने समस्याका कारण सडक खुलेपछि पनि लामो समय जाम हुने गरेको उनले बताए ।
तिहारको भाइटीकाको अघिल्लो दिन राति ११ बजेसम्म आफू र ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापा सडकमा बसेर सवारी पार गराएको पौडेलले बताए । “सावधानीकै कारण अहिलेसम्म ठूलो दुर्घटना हुन पाएको छैन”, उनले भने । सबैलाई ट्राफिक नियम पालना गरेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको उनले बताए ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार सडक छेउको डाँडो कमजोर भएकाले सुक्खा पहिरो खसिरहेको हो । तत्काल भइरहेको सडक विस्तारको ठेक्काबाट दीर्घकालीन समाधान निकाल्न नसकिने भएकाले पहिरो पन्छाउने काम मात्र भइरहेको उनले बताए । जोखिमपूर्ण पहिरो खसेर जोखिम कम हुने अवस्थाको प्रतीक्षा गर्नुको विकल्प तत्काल नरहेको उनको भनाइ छ ।
पहिरो रोकथामको दीर्घकालीन समाधानका लागि अध्ययन गरेर काम गरिने उनले बताए । पहिरोस्थलमा रातिको समयमा उज्यालोका लागि बत्ती जडान गरिएको छ भने पहिरो खसेमा तत्काल पन्छाउन सक्ने गरी उपकरण र जनशक्ति तैनाथ अवस्थामा राखिएको मिश्रले जानकारी दिए ।
यो सडक हुँदै दैनिक १५ हजारभन्दा बढी सवारीसाधन राजधानी प्रवेश गर्ने र बाहिरिने गर्छन् । सवारी चाप उच्च हुने यस सडकमा थोरै समय आवागमन रोकिँदा पनि लामो जाम हुने गरेको छ । अत्यावश्यक कामका लागि हिँडेका यात्रु लामो समय सडकमा बिताउनुपर्दा आफ्ना कामबाट समेत वञ्चित हुने गरेका छन् ।







