धनुषा। मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या देखिएको छ।
बहुआयामिक वञ्चितीकरण भन्नाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपनी सरसफाइ, आवास र सूचनाको पहुँचजस्ता अधिकारबाट एकै साथ वञ्चित हुने अवस्थालाई बुझाउँछ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार प्रदेशका २१ दशमलब तीन प्रतिशत बालबालिका विभिन्न प्रकारका अभाव र वञ्चितीकरणबाट प्रभावित छन्।
बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा समग्र विकासको अवस्थालाई विश्लेषण गर्दा मधेस प्रदेशको स्थिति चिन्ताजनक देखिएको हो।
विशेषगरी पाँच वर्षमुनिका वालबालिकामा कुपोषणको समस्या र साना बालबालिकाले पर्याप्त तथा विविधतायुक्त आहार नपाउने अवस्थाले शारीरिक तथा मानसिक विकासमा चुनौती थपेको छ।
मधेस प्रदेशमा पाँच वर्षमुनिका २६ दशमलव दुइ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिएको छ । त्यस्तै, ६ देखि २३ महिनासम्मका ६० दशमलव सात प्रतिशत शिशु तथा बालबालिकाले उमेरअनुसार आवश्यक पर्ने पर्याप्त र विविधतायुक्त आहार पाउन सकेका छैनन्।
बालबालिकाको उमेरअनुसार आवश्यक पोषणयुक्त खाना उपलब्ध नहुँदा उनीहरूको वृद्धि विकास प्रभावित हुने जोखिम रहन्छ।
बाल्यावस्थामा हुने पोषणको कमीले तत्कालीन स्वास्थ्यमा मात्र नभई भविष्यमा सिकाइ क्षमता, शारीरिक वृद्धि र सामाजिक अवसर प्राप्त गर्ने क्षमतासमेत प्रभावित गर्न सक्छ।
मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य नवल यादवले सम्भावनाले भरिपूर्ण प्रदेशमा बालबालिकाको अवस्था कमजोर रहनु चिन्ताको विषय भएको बताए।
उनले बालबालिकाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, पोषण तथा आधारभूत सेवासम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए।
बालबालिकाको वास्तविक आवश्यकता र समस्यालाई केन्द्रमा राखेर नीति निर्माण तथा कार्यक्रम कार्यान्वयन गर्नसके मात्र अपेक्षित सुधार ल्याउन सकिने उनको भनाइ छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले बहुआयामिक वञ्चितीकरण न्यूनीकरणका लागि शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तारसँगै डिजिटल साक्षरतामा समेत ध्यान दिनुपर्ने बताए।
उनका अनुसार वालबालिकाको जीवनस्तर सुधार गर्न आधारभूत सेवाको उपलब्धता र पहुँच सुनिश्चित गर्नु आवश्यक छ। आर्थिक रूपमा विपन्न परिवारका बालबालिका तथा कम शैक्षिकस्तर भएका आमाका सन्तान बहुआयामिक वञ्चितीकरणको बढी जोखिममा रहने गरेको देखिएको छ।
परिवारको आर्थिक अवस्था, आमाको शैक्षिक स्तर र आधारभूत सेवाको उपलब्धताले बालबालिकाको स्वास्थ्य, पोषण तथा शैक्षिक अवसरमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।
गरिबी, पोषणयुक्त खानाको अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच र शिक्षाको कमजोर अवस्थाले बालबालिकाको बिकासमा समस्या सिर्जना गर्ने गरेका छन्।
बालबालिकाको अवस्था सुधारका लागि तथ्याँङ्कमा आधारित योजना निर्माण, पोषण तथा स्वास्थ्य सेवाको विस्तार, गुणस्तरीय शिक्षामा पहुँच र सुरक्षित खानेपानीको व्यवस्था महत्त्वपूर्ण पक्ष हुन्। बालबालिकाको पोषण, स्वास्थ्य, शिक्षा र संरक्षणलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने आवश्यकता तथ्याङ्कले औँल्याएको छ।
उनीहरुको वञ्चितीकरण घटाउन समयमै प्रभावकारी कदम चाल्न नसके यसको असर आगामी पुस्ताको स्वास्थ्य, शिक्षा र समग्र मानव विकासमा समेत पर्ने देखिन्छ।
राष्ट्रिय तथ्याङ्क कार्यालय (एनओसी) र युनिसेफ नेपालले सन् २०२६ सेप्टेम्बरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको २१ दशमलव चार प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा रहेको देखाएको छ । रासस







