Khabar Out
म्याग्दीका युवाले श्रमदानबाट गरे मोटरबाटो मर्मत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा स्थानीय युवाहरूको सक्रियतामा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ।

तिहार पर्वको अवसर पारेर न्यू देविस्थान युथ क्लबको आयोजनामा मङ्गलबार उक्त सडक मर्मत गरिएको हो।

क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा श्रमदान गरी सडकमा थुप्रिएको माटो, ढुङ्गा तथा झाडी पन्छाउनुका साथै आवश्यक मर्मत गरिएको छ। बर्खायाममा अवरुद्ध बनेको सडक मर्मतमा ढिलाइ हुँदा स्थानीय बासिन्दालाई आवतजावत र सामान ढुवानीमा सास्ती भएको थियो। सरकारी निकायको मुख ताकेर बस्दा काममा ढिलाइ हुने देखेपछि युवाहरूले आफैँ अग्रसरता लिएर बाटो बनाएका हुन्।

अभियानमा ३० जना युवा सहभागी भएको क्लबका सचिव सुभास पुन मगरले जानकारी दिए। तिहार मनाउन जन्मथलो फर्किएका युवाहरूले सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले सडक मर्मतमा श्रमदान गरेको उनले बताए।

श्रमदान अभियानका क्रममा आवश्यक ढुवानीका लागि ट्याक्टरको भाडा र सहभागीको खाजाका लागि लक्ष्मीकुमार पुन, रेशम घर्ती मगर र रेकबहादुर पुनले आर्थिक सहयोग गरेका थिए। अभियानको खाजामा १० हजार ७ सय ९० रुपैयाँ खर्च भएको क्लबले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update