Khabar Out
बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

धनुषा । तराई–मधेसमा परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री बनाउने पेसामा पछिल्लो समय अन्य समुदायका मानिससमेत आकर्षित हुन थालेका छन् ।

धनुषाको धनौजी गाउँपालिका–३ स्थित कटैयागाउँमा मुखिया, मण्डल, यादव, चमार, मुस्लिम र साहलगायत समुदायका करिब दुई सय जना यस पेसामा आबद्ध छन् । गाउँका डेढ सय घरपरिवारमध्ये अधिकांशले बाँसबाट ढक्की, डालो, नाङ्लो र सुप्पालगायत सामग्री उत्पादन गर्दै आएका छन् ।

स्थानीय निर्धन मुखियाका अनुसार विभिन्न समुदायका मानिसले एकअर्काबाट सीप सिकेर यो पेसा अपनाएका हुन् । ठूलो लगानीबिना घरमै बसेर आम्दानी गर्न सकिने भएकाले यसको आकर्षण बढेको उनले बताए ।

स्थानीय अरबिन्दकुमार साहका अनुसार बाँसका सामग्री बनाएर दैनिक करिब एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । जातीय पहिचानभन्दा सीप र मेहनतलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

छठपर्व नजिकिएसँगै बाँसका सामग्रीको माग बढेको छ । ढक्की, डालो, नाङ्लो र सुप्पालगायत सामग्री खरिद गर्न व्यापारी गाउँमै पुग्ने गरेका छन् । पर्वका बेला बिक्री बढे पनि वर्षभरि घरायसी प्रयोजनका सामग्रीको माग रहने स्थानीय बताउँछन् ।

धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले कटैयागाउँको अभ्यासले कुनै पनि पेसा जातीय घेरामा सीमित नरहेको सन्देश दिएको बताए । परम्परागत सीपको विस्तारले स्वरोजगारसँगै श्रमप्रतिको सम्मान र सामाजिक सद्भाव बढाउन सहयोग पुगेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update