काठमाडाैँ । काश्मीरमा भालुको आक्रमणमा आमाको मृत्यु भएपछि भारतीय सफ्टवेयर इन्जिनियर मुदासिर अलीले हिमालय क्षेत्रमा वन्यजन्तुको जोखिमबाट मानिसलाई जोगाउन अनलाइन पूर्वचेतावनी प्रणाली विकास गरेका छन् ।
३३ वर्षीय अलीले ‘वाइल्डपिङ’ नामक निःशुल्क वेबसाइट बनाए। यसमा प्रयोगकर्ताले भालु, चितुवा तथा अन्य वन्यजन्तु देखिएको स्थानको जानकारी दिन सक्छन्। त्यसका आधारमा जोखिममा रहेका आसपासका मानिसको मोबाइलमा चेतावनी पुग्छ ।
आमाको मृत्यु भएको पहिलो वार्षिकोत्सवका अवसरमा गत अक्टोबरमा यो प्रणाली सार्वजनिक गर्नुभएका अलीले आफ्नो पीडाबाट अरूलाई जोगाउन प्रविधिको उपयोग गर्न चाहेको बताए। आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ यता काश्मीरमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने कम्तीमा ५० जनामध्ये उनकी आमा पनि थिइन्।
वन विनाश र वन्यजन्तुको बासस्थान खुम्चिँदै जाँदा हिमालय क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको छ । काश्मीरमा दशकौँदेखि जारी द्वन्द्व, सीमाक्षेत्रमा लगाइएका बार र सैन्य उपस्थितिले पनि वन्यजन्तुको आवागमनमा अवरोध पुर्याएको छ ।
वाइल्डपिङमा घर, खेत, विद्यालय र बालबालिका हिँड्ने बाटोलाई निगरानी क्षेत्रका रूपमा निर्धारण गर्न सकिन्छ । ती क्षेत्रमा वन्यजन्तु देखिएमा प्रयोगकर्ताले मोबाइलमा सूचना पाउँछन् । यसले द्वन्द्व रोक्न नसके पनि समयमै सतर्क भएर परिवारलाई सुरक्षित राख्न वा सहयोग माग्न सकिने वेबसाइटमा उल्लेख छ ।
काश्मीरमा पाइने दुई प्रजातिका भालुमध्ये हिमाली कालो भालु वन्यजन्तुको आक्रमणबाट हुने मृत्यु र घाइतेका ८० प्रतिशतभन्दा बढी घटनामा संलग्न रहेको विज्ञहरूको भनाइ छ। यस क्षेत्रमा खैरो भालु र चितुवासमेत पाइन्छन्।
अङ्ग्रेजी, हिन्दी र उर्दू भाषामा उपलब्ध वेबसाइटले सञ्चालनको एक महिनाभन्दा कम अवधिमै करिब नौ हजार आगन्तुक आकर्षित गरेको छ। सयौँ प्रयोगकर्ता नियमित रूपमा यसमा फर्किने गरेका छन्।
स्थानीय बासिन्दा यासिर इकबालले पनि भालु देखेपछि तत्कालै वेबसाइटमार्फत जानकारी गराएका थिए। उनका अनुसार गाउँका धेरै मानिसले यसको प्रयोग गर्न थालेका छन् । वन्यजन्तु देखिएका स्थानबारे समयमै सूचना पाउँदा मानिसको ज्यान जोगाउन सहयोग पुग्ने उनको विश्वास छ । रासस







