Khabar Out
तिहार खर्च जुटाउन राउटे समुदायका पाँच सदस्य पाल्पामा

पाल्पा । राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् ।

तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरू पाल्पा आएका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो ।

कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफ्नै हातले निर्माण गरेका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग सङ्कलनमा जुटेका छन् ।

गाडीमा बसेर पाल्पा आइपुगेका उनीहरूको मुख्य उद्देश्य तिहार मनाउन आवश्यक खर्च जुटाउनु हो ।

पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीप र श्रमबाट तयार पारिएका काठका सामग्री बिक्री गरेर दैनिक गुजारा चलाउनुका साथै चाडपर्वका लागि खर्च जुटाउने गरेको समुदायका सदस्य बन्दवीर शाहीले बताए ।

“अब तिहार आइसक्यो, मिठो खानेकुरा खानुपर्छ,” शाहीले भने, “हामीसँग पैसा हुँदैन । त्यसैले आफैँले बनाएका भाँडाकुँडा बेच्ने र सहयोग माग्ने गरेका छौँ ।”

उनका अनुसार विगतमा जङ्गलका रुखबाट काठका ठेकी, कोसीलगायत सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्ने गरिएको थियो ।

अहिले जङ्गलमा रुख काट्न सहज नभएपछि परम्परागत पेसाबाट आम्दानी गर्न कठिन भएको छ । यसले गर्दा समुदायका सदस्य आर्थिक आवश्यकताका लागि विभिन्न ठाउँमा पुगेर सहयोग सङ्कलन गर्न बाध्य भएका छन् ।

“पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कोसी बनाएर बिक्री गथ्र्यौँ र आफ्नो खर्च चलाउँथ्यौँ । अहिले रुख काट्न पाइँदैन । त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नुपर्छ,” उनले भने ।

दसैँ पनि यसैगरी खर्च जुटाएर मनाएको बताउँदै शाहीले तिहारमा समुदायका सदस्यसँग रमाइलो गर्न र मिठोमसिनो खान केही रकम जुटाउने आशासहित पाल्पा आएको बताए ।

उनीहरूले काठका सामग्री बिक्री गरिरहेको दृश्यले स्थानीयवासी तथा बजारमा आवतजावत गर्ने सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।

परम्परागत सीपबाट निर्माण गरिएका काठका सामग्री हेर्न र खरिद गर्न स्थानीयले चासो देखाएका छन् ।

आधुनिक जीवनशैली र बजारमा विभिन्न प्रकारका औद्योगिक सामग्रीको प्रयोग बढ्दै गएको अवस्थामा राउटे समुदायले भने पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीपलाई निरन्तरता दिँदै आएका छन् ।

उनीहरू प्रत्येक जिल्ला जाने, स्थानीय तह र अन्य सरकारी कार्यालयमा पुग्ने र समुदायका लागि चाडपर्व खर्च सङ्कलन गर्ने गरेका छन् ।

कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि अन्नसँग सामग्री साट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । उनीहरू तस्बिर खिचेको समेत पैसा माग्न थालेका छन् ।

बाँदरको सङ्ख्या घट्दै जानु, सामुदायिक वनमा रुख सजिलै काट्न नपाउनु तथा विभिन्न सङ्घसंस्थाको प्रभाव राउटे समुदायमा बढ्नाले उनीहरू विस्तारै परनिर्भर बन्दै गएका छन् । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update