Khabar Out
रुपन्देहीको देवदहमा पहिलोपटक आयोजना गरियो कथिन चीवर दान

रुपन्देही । रुपन्देहीको देवदहमा कथिन चीवर दान कार्यक्रम आयोजना गरिएको छ। यशोधरा भिक्षुणी विहार देवदह र त्रिरत्न वन्दना पुचः बुटवलको संयुक्त आयोजनामा आइतबार तीनमहिने वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई पहिलो पटक कथिन चीवर दान गरिएको हो।

विहार व्यवस्थापन समितिका सचिव तिलविक्रम बुढाथोकीका अनुसार कार्यक्रममा २० जना भिक्षु तथा भिक्षुणी सहभागी थिए। विहारमा श्रीलङ्काका चन्दनन्द भन्ते र अमेरिकाका श्रामणेर सुमनाले वर्षावास गरेका थिए। कार्यक्रममा देवदह, बुटवल, काठमाडौँलगायत देशका विभिन्न स्थान तथा भूटानबाट आएका उपासक–उपासिकाको सहभागिता रहेको थियो।

स्थानीय पत्रकार विष्णु पोखरेलले बुद्ध शिक्षाले मानव जीवनमा मैत्री, करुणा, अहिंसा, सद्भाव र परोपकारको भावना विकास गर्न प्रेरित गर्ने बताए। बुद्धका उपदेशलाई व्यवहारमा उतार्न सके समाजमा शान्ति, सहिष्णुता र आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

बौद्ध शिक्षाका ज्ञाता टङ्क सुनारले कथिन चीवर दान बौद्ध धर्मको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा भएको बताए। वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई चीवर दान गर्नु सङ्घप्रतिको श्रद्धा, त्याग र पुण्य सञ्चयसँग जोडिएको परम्परा भएको उनले उल्लेख गरे।

थेरवाद बौद्ध परम्परामा कथिन चीवर दानलाई अत्यन्त पवित्र र ऐतिहासिक महत्वको सङ्घदानका रूपमा लिइन्छ। वर्षायाममा तीन महिना वर्षावास बसेर साधना पूरा गरेका भिक्षु–भिक्षुणीलाई चीवर अर्थात् वस्त्र दान गर्ने परम्परालाई कथिन चीवर दान भनिन्छ। यो दान वर्षावास समाप्त भएपछि आश्विन पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म गरिन्छ।

बौद्ध परम्पराअनुसार कथिन चीवर दानको सुरुआत भगवान् बुद्धकै समयमा भएको मानिन्छ। पावाबाट आएका ३० जना भिक्षु वर्षावास पूरा गरी भगवान् बुद्धको दर्शन गर्न श्रावस्तीस्थित जेतवन विहारतर्फ जाँदै गर्दा वर्षाका कारण उनीहरूका चीवर भिजेर मैला भएका थिए। भिक्षुहरूको कठिनाइलाई ध्यानमा राख्दै भगवान् बुद्धले सङ्घको हितका लागि कथिन चीवर दानको परम्परालाई अनुमति दिएको बौद्ध ग्रन्थमा उल्लेख छ।

कथिन दान केवल वस्त्र प्रदान गर्ने कर्म मात्र नभई दान, त्याग, करुणा र सङ्घप्रतिको श्रद्धाको अभ्यासका रूपमा लिइन्छ। देवदहमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले क्षेत्रको बौद्ध सांस्कृतिक तथा आध्यात्मिक परम्पराको संरक्षण र बुद्ध शिक्षाको प्रचारप्रसारमा योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update