Khabar Out
छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा फूलपातीको दिन आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ । वर्षको नौ दिन नवरात्रका अवधिमा मात्रै खुल्दै आएको उक्त मन्दिर विगत तीन वर्षदेखि भने दैनिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको थियो ।

बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिरमा पूजाआजाका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको स्थानीय किसान प्रधानले बताए । उनका अनुसार यहाँ पूजाआजाका लागि बन्दीपुरका ग्रामीण भेगदेखि छिमेकी पालिकाबाट समेत भक्तजन आएका छन् ।

करिब ६०० वर्षभन्दा पुरानो यस मन्दिर जातीय सहिष्णुताको प्रतीक मानिन्छ । यस मन्दिरमा कामी, मगर र बाहुन जातिका तीन पुजारी छन् । भगवान् शिवजीले राजा मणिमुकुन्द सेनलाई दिएको तरबार राजा मुकुन्द सेनले एक ब्राह्मणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको र यस तरबारले नागको रूप लिएर घरको परिक्रमा गरिरहेपछि धार्मिक अनुष्ठान गर्ने कार्य गरिएको तथा नागले तरबारको रूप धारण गरी उडेर बन्दीपुर डाँडामा खसेर उछिट्टिएर यस ठाउँमा भगवान् शिवजीको सन्देशस्वरूप खड्गदेवीको रूपमा प्रकट भई स्थापना भएको धार्मिक किंवदन्ती छ ।

यहाँका बन्दीपुरेहरूले इष्टदेवताको रूपमा पुजिने देवीको यस मन्दिर वर्षको नौ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो । केही समय जमिन छोडेर हावामा सयर गरेपछि मन्दिरको दर्शन गर्दा सबल, सक्षम, कुशल नेता, प्रशासक र सत्कर्मी बन्न सक्ने आशीर्वाद पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

मन्दिर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने मन्दिरका प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेले जानकारी दिए । यस मन्दिरमा फूलपातीको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अङ्कित झल्लरमा उल्लेख छ ।

खड्गदेवी मन्दिरमा हरेक दसैँको फूलपातीका दिन विशेष मेला लाग्छ । मन्दिरको खड्गलाई बजारमा शोभायात्रा गरिन्छ । खड्ग शोभायात्रा गर्दा बन्दीपुरका सबै जातजातिका व्यक्ति सहभागी हुन्छन् । शोभायात्रामा हजारौँको सङ्ख्यामा उपस्थिति हुने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

मन्दिर पहिले ढुङ्गैढुङ्गाबाट निर्माण गरिएको थियो । पछि राजा चन्द्रशमशेरको पालामा दरबार शैलीमा मन्दिर रूपान्तरण गरियो । अहिले भने त्यहाँ तामाको छाना राखिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update