गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो ।
दसैँका बेला नै अस्थायी यातायात सेवा सुचारु गर्न बेलीब्रिज निर्माण गर्न थालिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई दसैँअघि नै सञ्चालन गर्नेगरी बेलीब्रिजको काम भइरहेको गोरखा सडक योजना कार्यालयले जनाएको छ ।
आरुघाटको मोटरेबल पुल बाढीले बगाएपछि आरुघाट बजार र पृथ्वीराजमार्गबीच आवागमन अवरुद्ध भएको थियो । सो सडकमा सवारीसाधन नचल्दा दसैँका बेला उत्तरी गोरखा आवतजावत प्रभावित बनेको थियो ।
पुलको जिप लगायत प्राविधिक काम गोरखा सडक योजना कार्यालय र बेलीब्रिजको डेक जोड्ने काम नेपाली सेनाले गरेको हो । “आजसम्म हामी पुलको दुवैतर्फको जिप तयार गरिसक्छौँ । भोलिदेखि नेपाली सेनाले डेक सेटिङको काम सुरु गर्छन्”, गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनले भने, “सेनाले दुई दिनमा काम सम्पन्न गर्छौँ भनेको छ । दसैँअघि नै त्यहाँ गाडी चल्छ ।”
गत आइतबार बूढीगण्डकीको सहायक खोला उङ्गिलुङ पहिरोले थुनिएर एक्कासि आएको बाढीले धादिङ र गोरखा जोड्ने सो पुलको गोरखातर्फको भाग बगाएको थियो । “बगेको भागमा तत्काल सवारी चलाउन अहिले २२ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको बेलीब्रिज जोडिन्छ”, कार्यालय प्रमुख पुनले भने, “दसैँअघि सवारी सञ्चालन गर्न मिल्ने गरी रातदिन नभनी काम भइरहेको छ ।” राति पनि काम नरोकिएको उनले बताए । उत्तरी गोरखाको आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकालाई पृथ्वीराजमार्गसँग जोड्ने सो पुल २०७० सालमा निर्माण भएको हो ।







