उदयपुर। जिल्ला अस्पतालमा सम्बन्धित रोगका चिकित्सक नभएपछि बिरामीहरु उपचार नगराई फर्कन बाध्य भएका छन्।
उदयपुर जिल्लाको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार गर्न पुगेका बिरामी ओपिडीको कार्यकक्षमा पुग्दा चिकित्सक थिएनन्। उपचारका लागि ओपिडीको पुर्जा लिएका बिरामी चिकित्सक बिदामा बसेको कारण उपचार नगरी घर फर्किएका हुन्।
छालाको समस्या लिएर अस्पताल पुग्नुभएका त्रियुगा नगरपालिका–१२ का गोपालकृष्ण तिम्सिनाले दुई घण्टा लाइनमा बसेर उपचार नगराई फर्कन बाध्यभएको बताए।
“बिहान ८ः०० बजे नै अस्पताल पुगेर १ नं ओपिडीको पुर्जा लिएर लाईनबसे करिब साढे १० बजे पालो आयो, तर ओपिडीमा चिकित्सक थिएनन्”, तिम्सिनाले भने। “भित्र ओपिडीमा रहेका एक मेडिकल अधिकृतले आज डाक्टर बिदामा हुनुहुन्छ, तपाईको समस्याको लागि बाहिर क्लिनिकमा देखाउनु भनेपछि फर्केर घर आए।” अस्पतालको ओपिडीबाट नै बाहिर क्लिनिकमा जानु भनेपछि हामीले कसरी उपचार गर्नु ? तिम्सिनाले प्रतिप्रश्न गरे।
बिहीबार जिल्ला अस्पतालबाट करिब ५० जना बिरामीहरु पुर्जा लिएर उपचार नगराई फर्केका छन्। जिल्ला अस्पतालले गत आर्थिक वर्षमा इन्डोस्किोपी मेसिन र जेनेरेटर खरिद गर्नका लागि कोशी प्रदेश सरकारद्वारा विनियोजित रकमखर्च नगरी फ्रिज गरेको थियो ।







