Khabar Out
आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ।

यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०/१० वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकताअनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ।

निर्देशिका अनुसार प्रश्रवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ । त्यसले प्रश्रवका बेला आमाको मनोबल बढाउने र बच्चाको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ।

निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्रीवितरण नियन्त्रण) ऐन २०४९ को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्रीवितरण र प्रवरद्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्नेछ।

सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट ‘डिस्चार्ज’ भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति ‘फोकल पर्सन’ तोक्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशिकाले स्तनपानका लागि अनुकूल वातावरण निर्माण गर्ने र आमालाई आवश्यक सहयोग उपलब्ध गराउनेछ । त्यस्तै आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नेमा जोड दिएको छ।

नयाँ निर्देशिकामार्फत प्रश्रवदेखि सुत्केरीपछिको अवस्थासम्म मातृ तथा नवजात शिशुमैत्री सेवाको निरन्तरता सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update