चितवन । जिल्लामा गत ९ महिनामा ८० जना नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । सन् २०२६ को जनवरीदेखि हालसम्म जोखिममा रहेको समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो ।
भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनले २२३ जनामा गरेको परीक्षणका क्रममा उनीहरूमा रोगको सङ्क्रमण देखिएको हो । यस अवधिमा नयाँ भेटिएका सङ्क्रमितसहित ९१ जना नयाँ बिरामीले एड्सविद्धको औषधि सेवन गर्न थालेका छन् । ११ जना जिल्ला बाहिरबाट आएका हुन् । योसँगै अहिले फाउन्डेसनबाट एआरटी औषधि सेवन गर्ने एक हजार २९३ जना बिरामी पुगेका छन् ।
अस्पतालका फिजिसियन डा प्रमोद पौडेलका अनुसार सङ्क्रमितहरूमा गरिएको यौन रोग परीक्षणका क्रममा ५२ जनामा यौन रोगको समेत सङ्क्रमण देखिएको छ । एक हजार १६१ जनाको परीक्षणका क्रममा उनीहरूमा यौन रोग देखिएको हो । सङ्क्रमण देखिएकाहरूको उपचार गरिएको उनले जानकारी दिए ।
उनले भने, “पछिल्लो समय सरकारी तवरबाट कण्डम उपलव्ध हुन नसक्दा बिनासावधानी यौन सम्पर्क गर्ने ती समूहमा यौन रोग तथा भिरिङ्गी देखिएको हो ।”
यस्तै एड्स सङ्क्रमितहरूमा क्षयरोगको समस्या पनि देखिने गरेको उनले बताए । एक सय ४८ जनाको खकार परीक्षणका क्रममा १५ जनामा क्षयरोग देखिएको उनले बताए । जनवरीदेखि हालसम्म नियमित औषधि खाइरहेकामध्ये तीन जनाले औषधि सेवन गर्न छाडेको र सम्पर्कमा पनी नआएको फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सो समयमा औषधि लिन आउने, गरिब, वृद्ध तथा एकल महिलामध्ये एक हजार २११ जनालाई यातायात, प्रयोगशाला, पोषण, औषधि र आकस्मिक सेवामा सहयोग प्रदान गरिएको छ । नियमित औषधि सेवन गरे सङ्क्रमणबाट जोगिन सकिने उनले तबाए । रासस







