Khabar Out
राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर । सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै गएको छ । विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र राष्ट्रसेवाको भावना विकास गर्ने उक्त तालिम प्रभावकारी बन्दै गएको हो।

तालिमले विपद्का समयमा उद्धार तथा मानवीय सेवामा योगदान गर्नसक्ने जनशक्ति तयार पार्न र युवालाई राष्ट्रनिर्माण तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धनमा जिम्मेवार भूमिका निर्वाह गर्न तालिमले अभिप्रेरित गर्ने सेनाले जनाएको छ।

विद्यालयस्तरमा तीनमहिने तालिमअन्तर्गत भोजपुरको अरुण गाउँपालिकास्थित कटका माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गरेको छ। राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय, मोरङमा असोज ८ देखि २८ गतेसम्म सञ्चालन भएको ५२औँ जुनियर डिभिजन पहिलो चरणको वार्षिक सामूहिक क्याम्प (शिविर)मा कटका माध्यमिक विद्यालय प्रथम भएको छ। भलिबललगायत विभिन्न विद्यामा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयले प्रथम स्थान प्राप्त गरेको हो । यस वर्षको विद्यालयस्तरीय तालिम असार १ गतेदेखि असोज १ गतेसम्म सञ्चालन गरिएको थियो।

विद्यालयस्तरमा तालिम सम्पन्न भएपछि आयोजित वार्षिक सामूहिक क्याम्पमा विभिन्न जिल्लाका १८ विद्यालयका ५३५ विद्यार्थी सहभागी भएका थिए। क्याम्पमा विद्यार्थीले विभिन्न प्रतियोगिता तथा अभ्यासमा सहभागी हुँदै आफ्नो शारीरिक क्षमता, अनुशासन, सहकार्य र नेतृत्व कौशल प्रदर्शन गरेका छन्।

कार्यक्रम समापनका अवसरमा भोजपुरमा तालिम सञ्चालन तथा व्यवस्थापनमा योगदान पुर्‍याएको भन्दै श्री नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी मनोज ढुङ्गेललाई प्रशंसापत्र हस्तान्तरण गरिएको छ।

राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रप्रतिको जिम्मेवारी बोध विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।

विद्यालय तहदेखि नै विद्यार्थीलाई तालिममा सहभागी गराउँदा उनीहरूको व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्व र राष्ट्रसेवाप्रतिको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विद्यालयको भनाइ छ ।रासस

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update