काभ्रे । बनेपाको चारदोबाटोमा बिहीबार खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन्।
प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। बिरामीलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन उद्देश्यले रक्तदान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
‘रक्तदान जीवनदान’ भन्ने सन्देशसहित नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको सहयोग तथा लायन्स क्लब अफ काभ्रेको समन्वयमा रक्तदान गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रवीन कार्की, प्रहरी नायब उपरीक्षक रविन विष्ट, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापालगायतको उपस्थिति थियो।
दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगको उपचारका क्रममा बिरामीलाई रगत आवश्यकपर्ने भएकाले रक्तदान महत्वपूर्ण रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन विष्टले बताए।
रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले बिरामीलाई आवश्यकपर्ने रगत रक्तदाताबाटै सङ्कलन गर्नुपर्ने उनले बताए । रासस







