Khabar Out
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

काठमाडौँ । नेपालीको महान चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आजसम्म ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो ।

उपत्यका छाड्ने यात्रुमध्ये एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष छन् । दसैँ मनाउन घर फर्किनेक्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप पनि बढिरहेको उनले जानकारी दिए ।

उपत्यका छाड्ने यात्रुको संख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारी साधनको पनि आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारी साधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । ती नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारी साधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।

चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा गराउन प्रहरीसहित यातायात व्यवसायीले प्रभावकारी जाँचको व्यवस्था गरेको जनाएका छन् ।

दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए ।

उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारी साधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ ।

“यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो”, उनले भने ।

चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुले सवारी साधनको अवस्था, चालकको स्वास्थ्य तथा सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने तथा यात्रु र सवारी चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना कम गर्न सकिने उनको भनाइ छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल नागढुङुगा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ । रासस

 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update