Khabar Out
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

चितवन । नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको छ । लगातार नारायणी नदीको कटान र तटबन्धमा समस्या देखिएपछि योजनाबद्ध रुपमा काम अघि बढाउन लागिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं चितवन क्षेत्र नं ३ की सांसद सोविता गौतमको पहलमा उक्त काम अघि बढेको हो । सरोकारवालासँगको छलफलमा नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाउने र आवश्यक निर्माण सामग्रीको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाइएको छ ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलले छलफलमा सो कुरा प्रकाश पारे । मन्त्री गौतमको उपस्थितिमा छलफलको आयोजना गरिएको हो । छलफलमा प्रमुख जिल्ला अधिकारी, सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका कर्मचारी, सरोकारवाला, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापतिसहित दलका नेता तथा कार्यकर्ता तथा स्थानीयवासीको उपस्थिति थियो ।

नारायणी नदीको कटान नियन्त्रण, तटबन्ध संरक्षण तथा दीर्घकालीन समाधानका विषयमा छलफल भएको थियो ।

छलफलमा भरतपुर महानगरपालिकाका विभिन्न तटीय क्षेत्रमा नारायणी नदीले गर्दै आएको कटान नियन्त्रणका लागि अल्पकालीन रूपमा काम गर्ने नपर्ने गरी दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी नियन्त्रणका लागि बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउनुपर्ने बताए ।

दीर्घकालीन समाधानका लागि वार्षिक भन्दा बहुवर्षीय योजना बनाएर आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका प्रमुख डा नारायण सुवेदीले नदी नियन्त्रणका लागि कङ्क्रिटको प्रयोगभन्दा बोल्डर (ठूला ढुङ्गा) को प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए ।

तटबन्ध निर्माणका लागि बजेट छुट्याइए पनि आवश्यक ठूला ढुङ्गाको उपलब्धता र स्रोत सुनिश्चितता मुख्य समस्याका रूपमा रहेको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update