काठमाडाैँ । जापानले प्रधानमन्त्री साने ताकाइचीलाई सम्बोधन गर्दा उचित सम्मानजनक भाषा प्रयोग गर्न चीनलाई आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जापानी प्रधानमन्त्रीलाई नामबाट मात्र सम्बोधन गरेपछि टोकियोले बेइजिङसमक्ष आफ्नो असन्तुष्टि जनाएको जापानी विदेश मन्त्रालयले बताएको छ।
जापानी विदेश मन्त्रालयका प्रवक्ता तोशिहिरो किटामुराले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार अर्को देशका नेतालाई सम्मानजनक रूपमा सम्बोधन गर्नु स्वाभाविक भएको बताए। “हाम्रो स्थितिमा मतभेद भए पनि अर्को देशका नेतालाई उचित सम्मान देखाउनु स्वाभाविक हो”, उनले भने।
चीनले आफ्नो भूभाग दाबी गर्दै आएको ताइवानको विषयमा जापानका प्रधानमन्त्री ताकाइचीले सन् २०२५ मा दिनुभएको अभिव्यक्तिपछि दुई देशबीचको सम्बन्धमा केही असहजता देखिएको छ।
यसैबिच सम्बन्ध सुधार्ने प्रयासस्वरूप जापानी सांसदहरूले पछिल्ला केही सातामा चीनको भ्रमण गरेका छन्। प्रधानमन्त्री ताकाइचीले हालै चीनलाई ‘महत्त्वपूर्ण छिमेकी’ बताउँदै दुई देशबिच स्थिर सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस







