Khabar Out
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता

साेल । दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी अन्तरिक्ष रकेट ‘नुरी’ ले बुधबार सफलतापूर्वक उडान भर्दै १५ वटा उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्‍याएको छ । यो सफलता दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । नुरीको विकासक्रममा यसलाई अहिलेसम्मकै सबैभन्दा जटिल र चुनौतीपूर्ण अभियान मानिएको छ।

तीन चरणमा विभाजित तरल इन्धनबाट चल्ने नुरी रकेटले स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजेर २५ मिनेटमा उडान भरेको थियो । रकेटलाई राजधानी सियोलबाट करिब ४०० किलोमिटर दक्षिणपश्चिममा रहेको गोहुङ क्षेत्रस्थित नारो अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो।

प्रक्षेपणपछि रकेटको उडान निर्धारित योजनाअनुसार अघि बढेको थियो । रकेटको पहिलो चरण सफलतापूर्वक अलग भएको थियो । त्यसपछि यसको बाहिरी आवरण र दोस्रो चरण पनि योजनाअनुसार छुट्टिएका थिए। प्रक्षेपणको करिब १२ मिनेट ३० सेकेन्डपछि रकेटको तेस्रो चरणको इन्जिन बन्द गरिएको थियो।

त्यसपछि करिब ५७५ किलोमिटर उचाइमा उपग्रहहरूलाई क्रमिक रूपमा निर्धारित अन्तरिक्ष कक्षमा राख्ने प्रक्रिया सुरु गरिएको थियो । यो प्रक्रियामा विशेष सावधानी अपनाइएको थियो, किनभने एउटै उडानबाट धेरै उपग्रहलाई फरक समय र निश्चित क्रममा अन्तरिक्षमा पठाउनुपर्ने थियो।

यस अभियानको मुख्य उद्देश्य राष्ट्रिय सुरक्षाका लागि पृथ्वीको अवलोकन गर्ने पाँच वटा साना उपग्रहलाई अन्तरिक्षमा पुर्‍याउनु थियो । ती उपग्रहहरूलाई ३५ देखि ४० सेकेन्डको अन्तरालमा एक-एक गरी सफलतापूर्वक अलग गरिएको थियो। यी उपग्रहहरूले पृथ्वीको सतहको निगरानी तथा विभिन्न भौगोलिक गतिविधिको अध्ययनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मुख्य पाँच उपग्रहपछि थप १० वटा साना शैक्षिक तथा व्यावसायिक उपग्रहलाई पनि अन्तरिक्षमा पठाइएको थियो। ती उपग्रहहरूलाई दुई-दुई वटाको समूहमा करिब १० सेकेन्डको अन्तरालमा अलग गरिएको थियो।

यसअघि नुरीको चौथो उडानमा एउटा मात्र मुख्य उपग्रह पठाइएको थियो। तर यसपटक एउटै उडानबाट १५ वटा उपग्रहलाई निश्चित क्रम, समय र उचाइअनुसार अन्तरिक्ष कक्षमा पुर्‍याउनुपर्ने भएकाले अभियानको जटिलता निकै बढेको थियो।

अभियान पूरा भएपछि नुरीले अन्तरिक्षमा रहेका अन्य वस्तुसँग सम्भावित ठक्कर रोक्न आवश्यक केही गतिविधि गर्नेछ। त्यसपछि रकेट पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नेछ र घर्षणका कारण जलेर नष्ट हुनेछ।

नुरीको यो सफल उडानले दक्षिण कोरियाको आफ्नै अन्तरिक्ष प्रविधि विकास गर्ने क्षमता थप बलियो भएको देखाएको छ। साथै, भविष्यमा थप जटिल अन्तरिक्ष अभियान सञ्चालन गर्ने बाटो पनि यस सफलताले फराकिलो बनाएको छ ।  रासस

 

 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update