रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने प्रमुख स्थल नाका बेलहियाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा सुधार देखिएको छ ।
पर्यटक प्रवेश गर्ने प्रमुख नाका भए पनि बेलहियाको भौतिक पूर्वाधार, सौन्दर्यीकरण र पर्यटकमैत्री सेवासुविधा भने अपेक्षाअनुसार विकास हुन सकेको छैन ।
अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०२५ मा उक्त नाका हुँदै तेस्रो मुलुकका एक लाख तीन हजार ९५५ पर्यटक नेपाल प्रवेश गरेका थिए । सन् २०२६ को सेप्टेम्बर २६ सम्ममा ७५ हजार ९०६ पर्यटक सोही नाका भएर नेपाल भित्रिएका छन् ।
पर्यटकीय याम सुरु हुनै लागेकाले यस वर्ष पर्यटक आगमन गत वर्षकै हाराहारीमा पुग्ने अपेक्षा गरिएको अध्यागमन कार्यालयले जनाएको छ ।
अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकृत पुकार श्रेष्ठले हालसम्मको औसत दैनिक आगमनको गति कायम रहेमा वर्षको अन्त्यसम्म सन् २०२५ को हाराहारीमा पुग्न सक्ने बताए । “समग्रमा अहिले पर्यटक आगमन राम्रो छ । बाँकी महिनामा पनि सुधार हुने अपेक्षा छ,” उनले भने ।
बेलहिया नाका हुँदै श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा, भियतनाम र दक्षिण कोरियालगायतका मुलुकबाट पर्यटक आउने गरेका छन् । स्थलमार्गबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटकको प्रमुख गन्तव्य लुम्बिनी हुने गरेको छ । लुम्बिनीपछि पोखरा, चितवन, मुस्ताङ र काठमाडौँलगायतका पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटकसमेत रहेका छन् ।
यसले बेलहिया नाका लुम्बिनी प्रवेश गर्ने मात्र नभई नेपालका विभिन्न पर्यटकीय गन्तव्य जोड्ने महत्वपूर्ण प्रवेशविन्दुका रूपमा स्थापित हुँदै गएको देखाउँछ ।
व्यवस्थित पार्किङ, सरसफाइ, पर्यटक सूचना केन्द्र, विश्रामस्थललगायतका आधारभूत पूर्वाधारको अभाव भने नाकामा रहेको पर्यटन व्यवसायीको गुनासो छ ।
पर्यटन व्यवसायी तथा नाटा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले बेलहिया–भैरहवा क्षेत्रलाई पर्यटकको स्वागतद्वारका रूपमा विकास गर्नुपर्ने बताए ।
नाकाको सौन्दर्यीकरणसँगै पर्यटक सूचना प्रणाली, बहुभाषिक सूचना बोर्ड, व्यवस्थित यातायात, सरसफाइ, हरियाली र सुरक्षित आवागमनको व्यवस्था गर्न सके पर्यटक आगमनबाट लुम्बिनी तथा अन्य गन्तव्यमा थप आर्थिक लाभ विस्तार गर्न सकिने उनको भनाइ छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बेलहिया नाका व्यवस्थापनमा सङ्घीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए । “पर्यटक आगमन मात्रै होइन, यो नाका मुलुककै लाइफलाइन हो । यहाँ आउने पर्यटकलाई राम्रो व्यवहार र आवश्यक सेवासुविधा दिनुपर्छ,” उनले भने ।
बेलहिया नाका हुँदै वार्षिक हजारौँ तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरिरहेका छन् । अध्यागमन कार्यालयले राहदानीवाहक पर्यटकको विवरण राख्ने गरे पनि भारतीय पर्यटकको भने तथ्याङ्क राख्ने गरिएको छैन । सीमावर्ती क्षेत्र तथा अन्य पर्यटकीय गन्तव्यमा घुम्न, तीर्थाटन तथा धार्मिक गतिविधिका लागि ठूलो सङ्ख्यामा भारतीय पर्यटक आउने गरेका छन् ।
पर्यटन व्यवसायीका अनुसार बेलहियाको चुनौती पर्यटकको सङ्ख्या बढाउनु मात्र नभई नेपाल प्रवेश गर्ने पहिलो विन्दुमै पर्यटकले सकारात्मक र व्यवस्थित पर्यटन अनुभव गर्ने वातावरण तयार गर्नु हो । रासस






