दाङ । नेपाल विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ ।
आगामी मङ्सिर १ गतेदेखि भौतिक काउन्टर बन्दगरी अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्ने गरी आवश्यक व्यवस्था मिलाइने केन्द्र प्रमुख सुरेशकुमार महतोले बताए । उनका अनुसार सरकारको डिजिटल नेपालको अवधारणा तथा नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८३/८४ को नीति र निर्देशनअनुसार ग्राहक सेवालाई प्रभावकारी बनाई २४ घण्टा अनलाइन भुक्तानीको व्यवस्था मिलाइनेछ ।
हाल अनलाइन भुक्तानी गर्नेको सङ्ख्या उल्लेख्य रहेको उहाँको भनाइ छ । हाल ४२ प्रतिशत ग्राहकले अनलाइनमार्फत भुक्तानी गर्न थालेका छन् । भौतिक रूपमा उपस्थित भएर महसुल बुझाउँदा रकमभन्दा बढी समय र आवतजावतमा खर्च हुने भएकाले प्रविधियुक्त प्रणालीलाई अनिवार्य गरिएको प्रमुख महतोको भनाइ छ ।
उनका अनुसार रु १०० महसुल बुझाउन गाउँबाट कार्यालय आउँदा ग्राहकको रु ४०० देखि ५०० सम्म खर्च हुने र दिनभरिको समय खेर जाने गरेको छ । घरमै बसेर एक/दुई मिनेटमै भुक्तानी सम्पन्न गर्न सकिनेछ । रु ५०० सम्मको महसुल अनलाइन भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने र सोभन्दा बढी रकमको भुक्तानीमा पनि न्यूनतम शुल्क मात्र लाग्ने उनले बताए।
विद्युत् प्राधिकरणको एप वा अन्य डिजिटल भुक्तानी सेवा प्रदायक, मोबाइल बैंकिङ एपबाट सहजै रूपमा विद्युत् महसुल तिर्न सकिन्छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न प्राधिकरणले विद्यालयमा विद्युतीय सुरक्षा तथा अनलाइन पेमेन्टसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यालयमा आउने ग्राहकलाई पम्प्लेट वितरण गरिरहेको प्रमुख महतोले बताए । तुलसीपुर वितरण केन्द्रअन्तर्गत हाल ५५ हजार ग्राहक छन् । रासस






