Khabar Out
सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस नेपालमा मनाइँदै

काठमाडौँ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाउने गरिन्छ। 

सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसङ्घको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो। 

विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बिचमा पुर्‍याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। 

जुलाई २०११ मा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिले सूचनामा पहुँचको अधिकारलाई अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्साका रूपमा स्वीकार गरेको थियो। यस अधिकारका मुख्य दुई आयाम छन्, जसमा सीमित अपवादबाहेकका सूचना दिने राज्यको दायित्व र सार्वजनिक हितका सूचना स्वतः प्रकाशित गर्ने विषय समेटिएका छन्। संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यको सूचकाङ्कले पनि सूचनाको हकसम्बन्धी प्रभावकारी कानुन निर्माण तथा कार्यान्वयनको जिम्मेवारी तोकेको छ। 

विशेष गरी ग्रामीण क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र पिछडिएका वर्गसम्म सूचनाको हकका बारेमा अझै पर्याप्त जानकारी र चेतना पुग्न बाँकी छ। राष्ट्रिय सूचना आयोग, सूचनाको हकका अभियानकर्मी तथा आमसञ्चार माध्यमबाट सूचना प्रवाह गर्नुपर्ने जिम्मेवारीमा रहेका सार्वजनिक निकाय र सूचनाको आवश्यकता पर्ने नागरिक तहमा चेतनाको स्तर बढाउन निरन्तर प्रयास भइरहेको आयोगको भनाइ छ। आयोगले सही सूचना प्रवाहका लागि सामाजिक सञ्जाल, इन्टरनेट, इमेलजस्ता विद्युतीय माध्यमको सदुपयोगमा जोड दिँदै आएको छ, जसले सूचना मागकर्ता र सार्वजनिक निकाय दुवैलाई सहज बनाएको विश्वास गरिएको छ। 

सूचनाको हकलाई तल्लो तहसम्म पुर्‍याउनुपर्नेमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले जोड दिँदै आएको छ। महासङ्घले यसका लागि जागरण र अन्तर्क्रिया जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालको संविधानको धारा २७, सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५, कार्यविधि एवं निर्देशिकासमेत बनिसक्दा पनि तीनै तहका सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेर लैजाने वातावरण अझै नबनेको महासङ्घका अध्यक्ष उमीद बागचन्दले बताए। सूचनाको हकले नागरिकलाई अधिकारसम्पन्न बनाएकाले यसको कार्यान्वयनका लागि नागरिक संस्थाका रूपमा सक्रियता लिएको महासङ्घको भनाइ छ। 

सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले आयोगमा शीघ्र पदाधिकारी नियुक्तिको वातावरण बनाउनेतर्फ ध्यानाकर्षण गराउँदै रचनात्मक कार्यक्रमका साथ दिवस मनाउन लागिएको जानकारी दिए । रासस

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update